लेप्ट्या भनेर जिस्क्याउँदा फेरिएको जिवन
हरेकसंग फरक कला र कुनै न कुनै प्रतिभा हुन्छ, कसैले आफुसंग भएको प्रतिभा पहिचान गरेर प्रयोगमा ल्याउँछन् भने कसैले आफैसंग भएको क्षमता प्रयोग गर्न नसकेर लुकाएका हुन्छन्। आफुसँग भएको प्रतिभालाई कसरी प्रष्टफुटन गर्ने त्यो सबैको भिन्न भिन्नै हुन्छ।यस्तै विशिष्ट प्रतिभा भएका बैतडी जिल्ला सिगास गाउँपलिकाका मनोज चन्द अहिले आफ्नो प्रतिभा देखाउन देश विदेश दौडामा लागेका छन्। कक्षा ९ मा पढ्ने बेलादेखी गरेको प्रयासको फलस्वरुप दुबै हात, दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै नेपाली र अंग्रेजी लेख्न सक्छन् उनी।
उनले ६ ओटा कलम संगै चलाएर उल्टो र सुल्टो लेख्न सक्छन्। दुवै हातले उल्टो र सुल्टो लेख्न सक्ने चन्द अहिले आफुसँग भएको प्रतिभा देखाउन दार्चुला जिल्ला पुगेका छन्। नेपालका ७२ औ जिल्लाको रुपमा उनी दार्चुला पुगेका हुन्। साविकका ७५ जिल्लामध्ये चन्दले डोल्पा, हुम्ला र ताप्लेजुङ जिल्लामा मात्रै आफ्नो पहिचान देखाउन बाकी रहेको बताए। उनले हालसम्म २२ वटा दशेमा पुगेर आफुसँग भएको क्षमता देखाइ सकेका छन्। कक्षा ९ मा अध्ययन गर्ने बेलासम्म बाँया हातले लेख्ने चन्दलाई सबै साथीभाइले बाँया हातले लेख्दा लेप्ट्या भनेर हेप्न थालेपछि दाँया हातले लेख्ने प्रयास गरेको बताए। सुरु सुरुमा दायाँ हातले लेख्न समेत कठिन मानेका चन्दले दृढ संकल्प बोकेर अगाडी बढ्दा अहिले ६ ओटा कलम संगै चलाएर दुबै हात, खुट्टा, कुहिना र मुखले समेत लेख्न सक्ने भएका छन्।
मन र मस्तिष्कबाट आएको कुरा प्राप्त गर्न सजिलै सकिने तर त्यसकालागि आत्मविश्वास र निरन्तर प्रयास हुनु पर्छ उनले भने। २०६७ सालदेखि आफ्नो कलालाई देश विदेशमा देखाउँन थालेका हुन्। अहिले आफ्नो प्रदर्शनलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढिरहेको भएपनि निकट भबिष्यमा गिनिज बुक अफ द वल्र्ड रेकर्ड राख्ने चन्दको योजना छ। सकारात्मक सोचका साथ अगाडि बढ्ने क्रममा फरक फरक मानब स्वाभावका कारण बिभिन्न प्रतिक्रिया प्राप्त गरेपनि सबैले उत्साह थप्ने काम गरेकोमा उनी खुसी छन्। आफुँसग प्रतिभा हुँदा हँुदैपनि राज्यले प्रतिभा पहिचानको लागि लगानी नगरेकोमा उनको दुखेसको छ। चन्द भन्छन्, जीवन भनेको सिकाई हो, सिक्नमा कहिल्लै पछि नपरौ, आफुलाइ चिनेर जीवनमा केहि न केहि गर्न सक्छु भन्ने सोचेर अहिलेसम्म संघर्षरत छु।