सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढुंगा गिट्टीको नाममा ‘जेम्स स्टोन’ तस्करीको बाटो खुल्ला !

२०७८ जेठ ३१, ०१:१६

-खेमराज पन्त

७ वर्षअघि २०७१ असार १६ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खनिज पदार्थको व्यवसायिक उत्पादन गर्ने नीति अवलम्बन गर्नुका साथै बहुमूल्य रत्न(जेम्स स्टोन)को  व्यावसायिक प्रशोधनलाई प्रोत्साहन गरिनेछ भन्ने कुरा उल्लेख  गरेको थियो। 

तर नीति तथा कार्यक्रम प्रस्तुत भएको केही दिनपछि नै चुरे उत्खननको बारेमा व्यापक विरोधका साथै नेपालको माटो, ढुंगा, गिट्टी अत्यधिक मात्रामा भारत निकासी भएको विषयमा व्यापक रुपमा जनगुनासो र विरोध पश्चात सरकारले २०७१ साउनदेखि लागू हुनेगरी नदीजन्य पदार्थ निकासीमा प्रतिबन्ध लगाएको थियो।

बाहिरबाट हेर्दा ढुंगा मात्रै लाग्ने तर प्रशोधन गरेपछि बहुमूल्य गहना निर्माण गर्न सकिने यस्ता ‘जेम्स स्टोन’ अर्थात बहुमूल्य रत्नहरु नेपालमा कहाँ छन् भनेर इन्जिनियर स्व. हरिभक्त उपाध्यायले “नेपालका रत्नहरु” नामक पुस्तक प्रकाशन गर्नुभएको थियो।

उहाँका अनुसार नेपालमा जलविद्युत भन्दा धेरै बढी सम्भावना जेम्स स्टोनको रहेको कुरा एउटा पत्रिकामा अन्तर्वार्ताको क्रममा उल्लेख  गर्नुभएको थियो। उहाँले उक्त अन्तरवार्तामा कसरी शक्तिकोको आडमा अवैध तरिकाले यस्ता बहुमूल्य रत्नहरूको तस्करी हुन्छ भन्ने कुरा उल्लेख गर्नुभएको थियो। 

उहाँका अनुसार नेपाल मेटल इन्ड्रस्ट्री जसको मुख्य सेयर खेतान ग्रुपका संस्थापक मोहन गोपाल खेतानको थियो, त्यस कम्पनीले गणेश हिमालबाट २०५१ को आसपास समयमा कम्तिमा १९  टन  ‘रुबी’  अवैध तरिकाले उत्खनन गरेको थियो। 

सोको विरोध हुँदा उत्खनन भए नभएकोबारे  छानबिन गर्नका लागि सात सदस्यीय कमिटी गठन गठन गरिएको थियो। तर आश्चर्यजनक रूपमा कमिटीमा भएका कुनैपनि व्यक्तिले अनुसन्धानको लागि घटनास्थलमा जाने हिम्मत गरेनन् रे ! 

स्व. उपाध्ययलेले उक्त अन्तरवार्तामा उल्लेख गरेअनुसार गणेश हिमालमा अझै ६० हेक्टर क्षेत्रफलमा ‘रुबी’को पहाड छ। उनका अनुसार नेपालका विभिन्न क्षेत्रहरुमा बहुमूल्य जेम्स स्टोनहरु छन्। 

नेपालका बहुमूल्य रत्न अर्थात ‘जेम्स स्टोन’हरु उच्च हिमाली क्षेत्रमा अवस्थित छन् र थोरै मात्रामा लेसर हिमालयहरुमा पनि अवस्थित छन्। यहाँ जेम्स  स्टोनहरु– टुर्मालिन, नीलमणी, रुबी, अक्वामारिन आदि जस्ता थुप्रै बहुमूल्य धातुहरू भण्डार रहेको छ। 

खानी विभागमा ४० वर्षभन्दा बढी काम गर्नुभएका भूगर्भविद् कृष्णप्रसाद काफ्लेले आफ्नो ब्लग आर्टिकलमा “हिमालयन रत्न र नेपालमा तिनीहरूको सम्भावना” लेख्नुभएको छ।

विभिन्न अनुसन्धानको रेफरेन्स  दिदै  उहाँले लेख्नुभएको छ, ‘संखुवासभा, ताप्लेजुङ, जाजरकोट, मनाङ, काठमाडौं, धादिङ, रसुवामा भने उच्च श्रेणीका जेम्स  स्टोनहरु रहेका छन।’  उहाँ पुनः लेख्नुहुन्छ, ‘अवध  तरिकाले जथाभावी ढंगले धेरै स्थानमा उत्खनन भएको छ। सरकारको लाचारीपनको फाइदा लिदै तस्करहरुले यहाँका रत्न सिध्याईसक्थे तर कठिन भूगोलको कारण अझै धेरै परिणामको रत्न सुरक्षित छ।’ 

भूगर्भविद रामबहादुर शाह र कविराज पौड्याल आफ्नो रिसर्च आर्टिकलमा  लेख्नुहुन्छ ‘नेपालको खनिज सम्पदालाई यहाको भुगोलले बचाएको छ। यी खनिज (रत्न पत्थर) को सहि उपयोग गर्नसके नेपालको अर्थतन्त्रमा ठूलो परिवर्तन गर्न सकिन्छ।’

जस्तो गणेश हिमालमा रहेको रुबीको बजार मूल्यको गणना गर्ने हो भने नेपालको दुई वर्षको बजेट बराबरको रकम हुन जान्छ। मुख्यकुरा नेपालमा योसँग सम्बन्धित विषयमा अध्ययन गरेको जनशक्ति एकदम कम छ।

२०७१ सालमा गिट्टीढुंगा निकासीमा रोक लगाउनुअघि गिट्टी ढुंगाको रुपमा महिनाको २ ट्रक जति कच्चा जेम्स खुलेआम भारत निकासी हुन्थ्यो र अझै नेपालबाट भारत निकासी हुलेक्रम रोकिएको भने छैन। 

अहिले भारतको रत्नबजार राजिस्थान, सुरत, हैदराबादमा नेपाली पत्थरबाट बनेको रत्न भनि थुपै पसलले बिक्रीको लागि प्रदर्शन गरेको पाइन्छ। अनलाईन सर्च गर्दा ‘इन्डिया मार्ट’ ‘अलिबाबा’ हरुले पनि नेपालको ढुंगाबाट बनेको रत्न भनेर बिक्रीका लागि राखेका छन्।

हालै सरकारले २०७१ सालदेखि गिट्टी ढुंगाको निकासीमा लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णयले चर्चा पाएको छ। सरकारका अनुसार बढ्दो व्यापार घाटा कम गर्न आफुसँग जे छ सो बच्ने हो।  सरकारको बिरोध गर्नेहरु भन्छन् ‘चुरेलाई अनियन्त्रित तरीकाले दोहन हुँदै गरेको यस अवस्थामा सरकारको यस निर्णयले अझै दोहनलाई तिब्र गराउँछ।’

सरकार यसको सफाई दिईरहेको छ। खानीविभागले तोकेको क्षेत्रमा मात्र उत्खनन हुने बताउँछ। सरकारका तर्फबाट चुरे भावर, सिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रमा मात्रै खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण रहेको अर्थामंत्रलायाले बिज्ञप्ति निकालेको छ। यहाँ महत्वपूर्ण कुरा छुटिरहेको देखिन्छ। 

मागभन्दा आपूर्ति कम हुँदा गिट्टी, ढुंगा खोज्न खोला तथा चुरेमा एक्साभेटर लगाएर खन्न थालिएको छ। अभाव भएपछि अवैध क्रियाकलाप हुने नै भयो। यस्तो अवैध काम गर्न गुण्डागर्दी गर्ने नै भए। यहाँनिर सरकारमाथि गम्भिर प्रश्न गर्न सकिन्छ। 

साँच्चै सरकार चुरे बचाउन र अन्तरिक आवश्यकताको पूर्ति गर्न चाहन्छ भने निकासी किन गर्ने ? जसरी खोला नालामा जम्मा भएको ढुंगा संकलन गर्न अनुमति दिँदा खोलामा एक्साभेटर लगाउने तथा चुरे भत्काउने काम भयो। त्यसरी नै निकासी खुला गर्दा माग बढ्न गई महाभारत पर्वतमा समेत अनियन्त्रित र अवैध ढंगले उत्खनन् नहोला भन्ने के ग्यारेन्टी ? 

अझै सुक्ष्म रूपमा हेर्ने हो भने केही सीमित व्यक्ति नेपालको हिमालय क्षेत्रमा आँखा लगाएर बसेका छन्। यहाँ टोले गुन्डा लगाएर खानी उत्खनन गर्नमा क्रसर उद्योग व्यस्त छ। स्थानीय प्रशासन, प्रहरी र सरकार समेत यीनै कथित उद्यमीको सेरोफेरोमा रुमल्लीरहेको अवसरमा देश चलाउने केही सीमित पर्दा पछाडिका खेलाडी नेपालको बहुमूल्य खानी जेम्स स्टोन माथि गिद्दे आँखा लगाएर बसेका छन्।

जनता देखाउन एउटा उद्यम गर्ने तर भित्र अर्कै धन्दा गर्ने कुनै नौलो कुरा होइन। नेपालका प्रख्यात उद्यमी मोहन गोपाल खेतानलाई जेम्स स्टोन बिज्ञ हरिभक्त उपाध्यायले गणेश हिमालबाट निलम अवैध तरिकाले उत्खनन् गरेको आरोप लगाएका थिए।

 त्यस समयमा दरबारको नजिक रहेर उनले सो काम गरेको आरोप लगाइएको थियो। पहिले खानी उत्खनन्सँग सम्बन्धित कुरा धेरै कमलाई थाहा थियो र सबैले यो गर्न सम्भवपनि थिएन। तर अहिलेको अवस्थामा नेपालमा धेरै यस्ता व्यक्ति खडा भइसके जसलाई सरकार आफ्नो वरिपरी घुमाउन कुनै गाह्रो छैन। 

यस्ता व्यक्ति द्वन्द र अन्यौलकाबीच खेल्न सिपालु हुन्छन्। भारतको प्रहरी प्रशासनलाई छल्दै चीनमा समेत रक्तचन्दन तस्करी गर्नसक्ने यस्ता तस्करलाई ढुंगा निकासीका नाममा जेम्स स्टोन तस्करी गर्न के अप्ठ्यारो पर्ला ?

सामान्यतया नेपालको उच्च हिमाली भेगहरुमा जेम्स स्टोन अर्थात् रत्नहरु रहेको अनुमान गरिएको छ। साथसाथै तल्लो हिमालमा केही मात्रामा जेम्स स्टोन र अन्य महत्वपूर्ण खानीहरु रहेको अनुमान गरिएको छ। अहिले प्रतिबन्धित अवस्थामा समेत नेपालको ढुंगाबाट बनेको बहुमूल्य पत्थर भनी विश्वबजारमा बिक्रिको लागि उपलब्ध गराउनु, निकासीलाई खुकुलो गरिनु र हिमालय क्षेत्र नजिक महाभारत श्रृंखलामा उत्खनन गर्ने योजना बनाउनु के संयोगमात्रै हो ?

अझ महत्वपूर्ण कुरा अहिले हिमालय क्षेत्रको नजिकपनि सडक यातायात विकास हुँदैछ र कतिपय हिमाली क्षेत्रमा सडक यातायात पुगिसकेको अवस्था छ। दोस्रो महत्वपूर्ण कुरा यी जेम्स स्टोन सहजै सबै मानिसले पहिचान गर्न सक्दैनन्। हेर्दा सामान्य ढुङ्गा लाग्ने पत्थर जेम्स स्टोन हुनसक्छ। भूगर्भविद् अथवा जेम्स स्टोन विज्ञले मात्र ढुंगाहरु साधारण वा जेम्स स्टोन छुट्याउन सक्छन्। नेपालका प्रहरी, भन्सार कर्मचारीले छुट्टयाउने कुरै भएन। 

नेपालको खानीमा केही व्यक्तिहरुको चासो निकै छ। भारतको पनि चासो नहोला भन्न सकिन्न। किन भने भारतको कूल निर्यातमा रत्नको १४ प्रतिशत भन्दा बढी योगदान रत्न तथा गहनाको छ। र, २०२१ को कूल गार्हस्थ उत्पादन(जीडीपीमा) ७.५ प्रतिशत योगदान रहेको थियो।


नेपालका नदीनालामा सुक्ष्म चासो राख्ने भारतले आफ्नो अर्थतन्त्रको महोत्वपूर्ण क्षेत्र सरोकार नराख्ला भन्न सकिन्न। पहिले जलविद्युत कम्पनीको लाइसेन्स लिने र होल्डगरी राख्ने र अरुलाई बेच्ने चलन अहिले खानीमा सुरु भएको छ। 

सुन्दा आश्चार्य लग्न सक्छ जेम्स स्टोन तथा खानी उत्खनन् लागि खानी तथा भूगर्व विभागबाट लाइसेन्स लिनेको संख्या १५० भन्दा बढी छ। यसमध्ये केही जेम्स स्टोनको   लाइसेन्सलिनेको संख्या यस्तो छः सुन ५ जना, काईनाईट  १८, डेलोमाइट १०, अक्वामारिन ६, क्यलसाइट ३, क्वाज ८, ग्रेनाइट ३, टुर्मालिन ३, पोलिमेटल २  वटा। 

नेपालमा यी रत्नहरु उत्खनन् गर्ने औजार मात्रै होइन जनशक्ति पनि छैन। लाइसेन्स लिएर काम नगरे नियम अनुसार २ देखि ४ वर्ष स्वतः खारेज हुने यस्ता लाइसेन्स एकै परिवारका  र सीमित व्यक्तिले किन लिएका होलान ? 

यी सबै तथ्य एकै ठाउँमा राख्दा स्पष्ट हुन्छ गिट्टी, ढुंगा निकासीमा गरिएको खुल्ला केवल व्यापार घाटासँग मात्रै जोडिएको छैन। गाउँघरको उखान छ ‘आफु ताक्छ मुढो, बन्चरो ताक्छ घुड़ो।’ सरकार क्रसर उद्योगलाई खुसी पार्न ठिक्क तर तस्करहरु अहिलेसम्म अवैध तरिकाले गर्दै आएको जेम्स स्टोन तस्करी वैध तरिकाले निकासी गर्न ढुक्क !
 

कमेन्ट लोड गर्नुस