सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्यमशीलता विश्वविद्यालय (भाग–२)

२०७८ जेठ २९, ०४:१९ खबर संवाददाता

–पदमराज जोशी

गत साताको आलेखमा उल्लेख गरेको २५ लाखलाई पुँजीको रुपमा र उद्यमशीलता विश्वविद्यालय सीपको संकेतको रुपमा बुझाएको थिए।

उद्यमशीलता विश्वविद्यालयको अवधारणालाई छलफलमा ल्याउन वर्तमान समयको चर्चामा रहेकोको शैक्षिक प्रमाणपत्र राखेर ऋण प्रदान गर्ने व्यवस्था बजेटमा व्यवस्था भएपछि मनमा उठेका धेरै धरातल छोएका प्रश्नहरुले जन्माएको हो। प्रश्नको चाङ धेरै ठुलो छ। राख्न थालेपछि पुरै लेख नै प्रश्नमा  सकिन्छ तर पनि एक प्रश्नको सम्बोधन गर्ने प्रयासबाट आलेख सुरु गर्छु। 

ऋण लिन पढेको आधारमा एउटा राम्रो प्रश्तावना तयार पारौंला तर अनुभव र अर्को  लिएको ऋण व्यवस्थापनको सीप कसले सिकाई दिन्छ ? अहिलेको समयका युवाहरुलाई भविष्यमा के बन्छौ भनेर प्रश्न ग¥यो भने धेरैको उत्तर व्यवसायी, उद्यमी आफ्नै केही स्टाटप सुरुमा गर्ने लगायतका हुन्छन्।  

कम्तीमा  डाक्टर, इन्जिनियर बन्ने सपना बुन्नेको तुलनामा भन्दा यो संख्यामा  बढी नै छ । तर भविष्यमा साच्चिकै लक्ष्य अनुरुप अगाडी बढ्ने प्रतिशत पक्कै पनि कम हुन्छ। कारण सबैलाई थाहा छ। पुँजी र सीप दुईवटा प्रमुख श्रोतको अभावले सपनाहरू सुक्छ्न, तुहिन्छन्। 

अहिले हरेकले सिकाउन खोजिरहेको छ प्रमाणपत्र धितो राखेर २५ लाख ऋण कसरी लिने तर यो त कतै कसैले सिकाई रहेको  छैन कि त्यो २५ लाखले व्यापारको जग कसरी हाल्ने ?  र, साँवा ब्याज गरेर बैंकलाई कसरी बुझाउने ?

रोजगारी कसरी सिर्जना गर्ने र सरकारको  पवित्र उद्देश्यलाई साकार पार्ने। त्यसैले पुँजीसँग  सीप विकासमा जोड दियौं भने मात्रै हरेक चिजले मृतरुप लिन सक्छ। सरकारले पुँजीको विकल्पमात्रै निर्माण गरेर भाग्न मिल्दैन अब सीप निर्माणमा पनि भुमिका खोज्नुपर्छ। जसका लागि एउटा युवाको दृस्टिकोणले देख्ने विकल्प हो उद्यमशीलता विश्वविद्यालय। 

उद्यमशीलता विश्वविद्यालय 
आज युवाको सबैभन्दा ठुलो समस्या र  चिन्ताको विषय हो रोजगार। देशको आर्थिक अवस्था खराब छ, रोजगार घट्दो छ। कयौं युवा हातमा डिग्री लिएर गुमिरहेका छन्। सक्ने जति देशबाहिर श्रमिक बनिरहेका छन्। त्यतिपनी न सक्ने देश भित्र कुनै निजी संस्थाले  जागीर दिन्छन् कि पर्खीरहेका छन्। निजी संस्थापनि जागीर दिन सक्दैनन् उनीहरुलाई चाहिएको सीप पाउदैनन् त दयालु भावले मात्रै त उद्यम चल्दैन। ५ वर्षमा एक चोटी चुनाव आउदा रोजगारी पाउँछन् झण्डा समाउने त्यसपछि फेरि बेरोजगार। 

छिमेकी देश भारतमै पनि धेरै यस्ता विश्वविद्यालय छन् जहाँ एउटा छुट्टै यसको लागि  भनेर विभाग नै बनाएर उद्यमशीलताको प्रसार गरिरहेका छन् त्यसमा पनि दिल्ली सरकारले त एक वर्ष पहिले नै ‘दिल्ली स्किल एण्ड इन्टरप्रीनियर विश्वविद्यालय) भनेर संसद्मा बिल पेस गरेको थियो। 

र, कोरोनको यस्तो समस्याका बाबजुद पनि अहिलेसम्मको समयमा आइपुग्दा त्यो विश्वविद्यालयले औपचारिक रुपमै काम सुरु गरिसकेको छ।  खुद मुख्यमन्त्री अर्वीन्द्र केजरीवालले बोर्ड मीटिङमा सहभागी भएर नियालेर काम गराई रहेका छन्। 

केजरीवालले भन्ने गरेको अनुसार जसको उद्देश दक्ष जनशक्ति र  सशक्त उद्यमी उत्पादन गर्ने रहेको छ। अहिले हाम्रो पनि सबैभन्दा ठुलो समस्या  बेरोजगारीको छ र हाम्रा लागि सबै भन्दा ठूलो अवसर उद्यम छ। 

७० लाख भन्दा बढी युवा देश बाहिर छन् दक्षताको अभावले उनीहरु कतिले त एकदम न्यून पारिश्रमिकमा, धेरै नै सानो काम पनि गर्नु परिरहेको छ। देशमा सिक्ने ठाउँ छैन। उद्यमीले आफ्ना अनुभव सुनाउने ठाउँ छैन। आफ्नै बलमा खडा भएका उद्यमीहरुले दक्ष कामदार खोज्दा पाउँदैनन्। यी समस्या हाम्रो व्यावसायिक बजारका साझा समस्या हुन्। यीनलाई हल गर्ने उद्यमशिलता विश्वविद्यालय हुनुपर्छ। 

उद्यमशीलता विश्वविद्यालयले कसरी काम गर्न सक्छ ?
लगभग २५–३० वर्ष अध्ययन गरेर पनि एउटा डिग्रीधारी विद्यार्थी रोजगारी न पाएर विदेश हानिन्छ त्यो पनि लाखौं रुपैँया लगाएर विनासिप। जसले अरु आफुभन्दा जुनियरलाई रोजगारको सिर्जना गरेर समाजमा फरल छाप बनाउनुपर्ने हो उसलाई  नै न्यून पारिश्रमिकमा अर्काको देशमा काम गर्न बाध्य पार्ने हाम्रो शिक्षा प्रणाली नै हो। 

यसमा आमूल परिवर्तन आउनुपर्छ भन्नेमा सायदै कसैको बिमती होला तर परिवर्तन कसरी गर्ने त ? पाठ्यक्रम बदलिएर मात्रै त यो प्रणाली परिवर्तन भएको मान्न सकिदैन होला। त्यसैले यस्ता फरक र नतिजामुखी प्रयास सरकारबाट नै हुनु जरुरी छ।

विश्वभरीका प्रयास र अबका तयारी हेर्ने हो। र हाम्रो अवस्थालाई नियाल्ने हो भने  विश्वविद्यालयले विभिन्न उद्देश्यका लागि, फरक–फरक कदमले काम गर्न सक्छ। 

१) चलिरहेका कम्पनी, उद्योग, व्यावसायिक फर्मका लगायत रोजगार दातृ संस्थाहरुसँग सम्झौता गरेर तिनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने। यसरी रोजगारदाताको पनि फर्मले द्रुतगतिमा विकास गर्छ र जागीरेको पनि सेवा सुविधामा कुनै पनि किसिमको सम्झौता गर्नुपर्ने हुदैन। 

धेरै जस्तो यस्तो विद्यार्थी हामी देख्छौ जसको पारिवारिक स्थितीले स्कुल लेवलभन्दा माथि अध्ययन गर्न सक्दैन। उनीहरुले पनि बजारमा सानोतिनो रोजगारी खोजिरहेका हुन्छन्। तिनीहरुका लागि पनि विश्वविद्यालयले सहजताको भूमिका खेल्न सक्छ। 

२) यदि विद्यार्थी नयाँ उद्यम गर्ने इच्छा गरेर भर्ना हुन्छ भने निश्चित समय विद्यार्थीकै प्रपोजलमा केन्द्रित रहेको पाठ्यक्रम अध्ययन गराउने। उसलाई सम्बन्धित व्यवसाय चलाउन  स्रोत साधनको प्रबन्ध मिलाउन सिकाउने।

प्रत्यक्ष रुपमा उस्तै प्राकृतिको फर्ममा रोजगारी प्रदान गर्ने। र बजार बुझ्ने भइसकेपछि बैंकसँग ऋणको कुरा त छदैछ। बैंकलाई लगानी गर्न समेत प्रोत्साहन गर्न सकिन्छ। यसबाट एउटा कुरा त लगानी डुब्ने सम्भावना धेरै नै कम हुन्छ अर्को चाहिँ रोजगारी बढी मात्राले बजारमा सिर्जना हुन्छ।  

यो कुरा विभिन्न प्रतिवेदनले पनि देखाइसकेको छ। हाम्रो परम्परा समूहमा काम नगर्ने छ। तर उद्यमशिलता समूहमा बढी फस्टाउने हुन्छ। त्यसैले विश्वविद्यालय कति पुँजीमा कस्तो संरचनामा बनाउने भन्ने कुरा त यो क्षेत्रमा काम गरेका प्रख्यात व्याक्तिहरु काम गर्न रुचाउँछन् नै होला। तर सरकारले अर्थात सम्बन्धित निकायहरुले पहल कदमी चाल्नुपर्ने छ। 

मैले केवल मेरो बाल मस्तिष्कमा लागेका कुरा हरु मात्रै राखेको छु। अन्य विश्वविद्यालय सम्बन्धी योजना भएका, अनुभव भएका व्यक्तिहरुले यो विषयमा दबावमा निर्माण गर्नु जरुरी छ। 

कुनैपनि व्यवस्था छैन जहाँ राज्यले नै सबैलाई जागिर दिन सकोस। त्यसैले एउटा उद्यमशील समाज निर्माण नगर्दासम्म हामीले यो युगबाट अर्को युगमा प्रवेश गर्छौ या समृद्धि देशहरूको उचाईमा पुग्छौ भन्ने सोच्न पनि सकिँदैन।

यो पनि पढ्नुस्: 
२५ लाख अनि उद्यमशीलता विश्वविद्यालय ?

 

कमेन्ट लोड गर्नुस