सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको भवन निर्माणको काममा ढिलाई हुँदा सिटी स्क्यान मेसिन जडानको काम प्रभावित

२०७८ जेठ २१, ०९:२२ कमल सावद

धनगढीः भवन निर्माणको काम पूर्ण नहुँदा सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन जडानको काम प्रभावित भएको छ। सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेसिन जडानका लागि नौ महिनाभित्र भवन निर्माण सक्न ठेक्का दिएको थियो।

तर निर्माण व्यवसायीले सिटी स्क्यान मेसिनका लागि निर्माण थालिएको भवनको काम अझै पु्रा गर्न सकेको छैन्। भवनको काम पूरा नभएकाले सिटी स्क्यान मेसिन जडानको काम समेत प्रभावित भएको अस्पताल प्रशासनले बताएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माणको काम पु्रा नभए अस्पताल भवनका लागि विनियोजन भएको रकम समेत फिर्ता जाने चिन्ता गरिएको छ। 

सेती प्रादेशिक अस्पतालले गत वर्षको असारमा ९ महिनाको म्यादसहित सिटी स्क्यान मेसिन सञ्चालन गर्न आवश्यक पर्ने भवन निर्माणको ठेक्का लगाएको थियो।  सेती प्रादेशिक अस्पतालले इन्द्रधनु अछाम निर्माण सेवासंग १ करोड ४१ लाखमा भवन निर्माणको ठेक्का दिएको थियो। नौ महिनामा पुरा गर्नुपर्ने काम अझै सकिएको छैन्।

सम्झौता भएको ११ महिना भएको छ। तर भवन निर्माणको काम अझै पुरा भएको छैन्। भवन निर्माणको काम पुरा नभएकाले सिटी स्क्यान मेसिन जडानको काम समेत प्रभावित भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। उनले भने, “भवनको काम अझै सकिएको छैन्। भवन नभएका कारण सिटी स्क्यान मेसिन जडान गर्न पाएका छैनौ।

भवन भएको भए उहाँहरु मेसिन दिनुहुन्थ्यो। भवन नभएकाले मेसिन जडान भएको छैन्।”भवन निर्माण स्थलमा १५÷१६ वटा सेफ्टी ट्याङ्की रहेकाले समय लागेको निर्माण कम्पनीले बताउदै आएको छ।

तर सेती प्रादेशिक अस्पताल प्रशासनले निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलाई गर्दा सिटी स्क्यान मेसिन जडानको काम समेत प्रभावित भएको बताएको छ।

सेती प्रादेशिक अस्पतालले गत कार्तिकमा सिटी स्क्यान मेसिन खरिदका लागि म्याक्स मेडिटेक प्रालीसँग ६ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सो कम्पनीले सम्झौताअनुसार १ सय २८  स्लाइसको सीटी स्क्यान मेसिन खरिद गरेर ५ महिनाभित्र अस्पताललाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ।

तर सम्झौताको ७ महिना हुँदा पनि मेसिन आएको छैन्। जडानका लागि भवन नभएकाले सिटी स्क्यान मेसिन नआएको अस्पतालको दाबी छ। तर इन्द्रधनु अछाम निर्माण सेवाका प्रतिनिधि ललित कुवरले निषेधाज्ञाका कारण काम प्रभावित हुँदा काम चाँडो नभएको बताए। उनले भने, “निषेधाज्ञाले काम गर्न पाएनौ।

कामदारहरुलाई प्रहरीले काममा आउन दिएन। उनीहरु मनहेराबाट आउने। बाटोबाटै प्रहरीले फर्कायो। अब काम सुरुभएको छ। असारसम्मका लागि म्याद थपिएको छ। असार मसान्तसम्म काम पूरा हुन्छ, होला,” उनले भने। 

सेती प्रादेशिक अस्पताले भवन निर्माणको समय असार मसान्तसम्मका लागि थप गरेको छ। भवन निर्माणको काम नसकिएकाले प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ढिलाई हुने देखिएको छ।

असार मसान्त भित्र भवन निर्माणको काम पुरा नभए अस्पतालले आगमी आर्थिक वर्षका लागि पुनः रकम माग गर्नुपर्ने हुन्छ। “सिटी स्क्यानको रकम भने फिर्ता जाँदैन। तर भवनको रकममा समस्या हुन्छ। तर मन्त्रालयले अर्काे वर्षको लागि पनि दिहाल्छ। रकमको धेरै समस्या हुँदैन्,”डाक्टर पाण्डेले भने।

सुरुदेखि विवादित बनेको सिटी स्क्यान सेवा सञ्चालानको विषय थप पछाडी धकेलिने सम्भावना देखिएको हो। विगतदेखि सेती अस्पतालमा कमिसनको प्रलोभनमा सिटी स्क्यान सेवा सञ्चालन गर्न नदिन एक गिरोहकै सक्रिय रहेको र मिलेमतोमा संरचना निर्माणमा ढिलाइ हुँदै आएको आशंका बढेको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस