डडेल्धुरामा लम्ब्याइयो निषेधाज्ञा
डडेल्धुराः कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा ९ दिनका लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
लकडाउन थप कडाइ गर्दै खाद्य सामग्रीका पसलहरू तीन दिन मात्र खुल्ने भएका छन्। अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको हकमा हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने भएको हो। यसअघि तीन दिन मात्र खोल्न आदेश दिएको थियो।
अन्य पालिकाको हकमा भने बैशाख १४ गते जारी गरिएको आदेश नै लागू हुनेछ। यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले केही खुकुलो पारेको छ।
अमरगढी नगरपालिकामा रहेका बैंकहरू अब सातामा चार खुल्ने छन्। आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि तीन दिन मात्र खोल्न आदेश दिएको थियो।
अन्य पालिकाको हकमा भने बैशाख १४ गते जारी गरिएको आदेश लागू हुनेछ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।