इस्लामको थैलो खाली भएपछि पेट भोक्कै
सप्तरी: सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ।
छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा नहालेर ल्याएमा उनि चियामात्रै पिउदिनन्।
दुःखको कुरा, हिजोआज इस्लामले चिया र भुजा खाएर नै पेट भर्ने गर्छन्।
लकडाउन अघिसम्म दाल, भात तरकारीले उनको पूरै परिवारको पेट भरिन्थ्यो।
लकडाउनले आम्दानी खोसिएपछि चिया र भुजाले पेट भर्ने गरेको उनले बताइन्।
भारतको मधुबनी नरैया विवाह गरेर दिएकी छोरीको श्रीमानको १० वर्षअघि मृत्युभयो।
उनको जेठाजु, देवरले साथ, सहयोग गरेनन्, सासुससुराले पाल्न सकेनन्।
दुःख पाएर प्रवीणा चार सन्तानसहित माइतघर फर्किए। इस्लामको श्रीमतीको तीन वर्ष अघि मृत्यु भएपछि उनकि छोरी, नाती, नातिनीको संरक्षण गर्दै बसेकि छिन्।
सासुससुरालाई पाल्न कर नलागे पनि आफूले जन्माएको छोरीलाई कसरी अलपत्र छाड्नु भनेर सँगै राखेको उनले बताइन्।
भारतको जोगबनीबाट आएका इस्लामले राजविराजमा निकै काम खोजे। कुनै काम नपाएपछि दिदी सकिना खातुनले गर्दै आएको कवाडी संकलनको काम रोजिन्।
उनको काँधमा ठूलो थैलो बोकेर विराटनगर, इटहरी, झुम्का, इनरुवा, राजविराज ओहोरदोहोर गर्छिन्।
त्यो काममा उनीसँगै नातीहरूले पनि पालो लगाएर सहयोग गर्छन्। प्लाष्टिक, पन्नी, कार्टुनहरू खोज्न शहर–शहर डुलेर कवाडी संकलन गर्ने उनको पेशा लकडाउनसँगै बन्द भएको छ।
डेरा लिएको एक कोठे भ्रmुपो घरमा चार बालबालिकासहित बुवा र छोरी बस्छन्।
कोठा अगाडि ठूला–ठूला बोरोका थैलो राखिएका छन्। त्यसैमाथि निन्याउरो अनुहार लगाएर चारै जना नाती नातिनीहरू बसेका छन्।
कोरोना संक्रमणको जोखिम बढेपछि गत वैशख २५ गते रातिदेखि सप्तरीमा निषेधाज्ञा जारी छ।
औषधिलगायत अत्यावश्यकीय सेवाबाहेक सबै सेवाहरू ठप्प छन्। सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प छ।
सवारीसाधन बन्द रहेकाले वायु र ध्वनी प्रदुषण हुन पाएको छैन । पसलहरू बन्द रहेकाले सडक फोहोर भएको छैन्।
बजार सुनसान रहँदा इस्लामको रित्तो थैलो पनि कवाडीले भरिन पाएको छैन्।
रित्तो थैलो नभरिएकाले उहाँको परिवारको पेट पनि खाली रहन थालेको छ ।
सरकारले नागरिकलाई घर बाहिर नआउन गरेको आग्रह अटेर गर्दै इस्लाम साँझ विहानका लागि खानाको जोहो गर्न अहिले पनि बजार निक्लन खोज्छन्।
‘सरकारको आग्रह त मान्नुपर्ने हो तर के गर्नु सरकारको आग्रहले भोको पेट भरिदैन्’ उनले नाती, नातिनीतर्फ पुलुक्क हेरेर भनिन्।
नियम नमान्ने माथि प्रहरीले डण्डा वर्साउने र जरिवाना तिराउने गरेको सुनेका इस्लामले भने, ‘‘यो कवाडी उठाउने मान्छे हो भनेर होकी ? प्रहरीले जरिवाना तिराउने र डण्डा वर्साउने काम गरेको छैन।’’
भित्री बस्ती र टोल छेउ–छाउका गल्ली–गल्ली भने डुल्न त्यति समस्या छैन।
इस्लामले भने– ‘‘बजारमा पसलले फ्याँक्ने गरेको प्लाष्टिक र कार्टुनले एक दिनमै थैलो भरिन्थ्यो, अहिले त चार दिन खोजे पनि थैलो भरिदैन।”
निषेधाज्ञापछि कवाडी संकलन गर्न मात्र होइन कवाडी किन्ने पसलसम्म पु¥याउन पनि समस्या छ।
आर्थिक वर्षमा सरकारले कस्तो बजेट ल्यायो भनेर इस्लाम परिवारलाई कुनै चासो छैन्। इस्लामलाई त मात्र चासो छ, कवाडी बोक्ने थैलो बोकेर कहिले बजार जान पाइन्छ ?