साथीहरुको नाममा !
प्रिय साथीहरु! तपाईहरुसँग आज साथीको नाताले केही जिज्ञासाहरु, केही गुनासाहरु र केही सुझावहरू पस्किने जमर्को गरेको छु। पढ्ने वा नपढ्ने, सकारात्मक वा नकारात्मक चाहेको दृष्टिले हेर्ने सबै जिम्मा तपाईंहरुकै हातमा सुम्पेको छु। तर मलाई चाहिँ साथीकै नाताले गलत भएको ठाउँमा आलोचनात्मक टिप्पणी गरिदिनुहोला।
साथीहरु ! आज हामी इतिहासको कठिन कालखण्डमा छौं। बहुमतसहितको स्थिर सरकार बनाउने एउटा राजनीतिक आकांक्षा पूरा भइसकेको थियो। तर लज्जा पूर्वक भन्नुपर्छ हामी फेरि यतिबेला राजनीतिक दुश्चक्रको भुमरीमा फसेका छौं। विश्वव्यापी महामारी कोरोना भाइरसले निम्त्याएको जरजर अवस्था त छँदै छ।
आज हाम्रो स्वास्थ्यको समस्या र राजनीतिक परिस्थिति यो हदसम्म निर्माण हुनमा कुनै अमुख नेताको मात्रै हात छैन। एक जना मात्रैले पुरै देशलाई नचाउन सक्दैन। विगत धेरै वर्षदेखि सत्ताको वरिपरि रहेका, नेतृत्वमा रहेका र कयौँ पटक प्रधानमन्त्री बनेका सबै व्यक्तिहरू बराबर दोषी छन्। किनकि विगत १५/२० वर्ष देखिका कुनै पनि नेतृत्वकर्ताले कहिल्यै पनि परिणाम देखिने गरी, आम नागरिक र युवा जगतले अनुभूति गर्ने गरी काम गरेकै छैनन्। तपाईहरु भन्नुहोला फलानोले यस्तो प्रयास गरेकै हो। आफैलाई प्रश्न गर्नुहोस त, कुनै पनि प्रधानमन्त्रीले हृदयदेखि आफ्नो राजनीतिक स्वार्थ नहेरी कुनै एक क्षेत्रमा मात्रै पनि व्यापक सुधार गरेको भए ?
हामी आफू आबद्धभन्दा फरक पार्टीलाई, आफूले मान्नेभन्दा अर्को नेतालाई गाली गर्न माहिर छौं। त्यसको थोरबहुत दोष मेरै पार्टीको, मेरै नेताको पनि छ भन्ने महसुस नै गर्दैनौँ। आफूले समर्थन गरेको नेता दोषी छ भन्ने मनमनै सोचे पनि व्यक्त गर्दैनौँ। देश बिग्रनुको एक कारण यो पनि हो भनेर कहिले बुझ्ने हामी ?
म तपाईंहरूलाई अलिकति तीतो कुरा जानकारी गराउन चाहन्छु। कांग्रेस, एमाले र माओवादीले युवाहरुलाई बहिस्कार गरेका छन्। युवाहरुमाथी अन्याय गरेका छन्। सिङ्गो युवा पुस्ताको क्षमता र सृजनशीलतामा रत्तिभर विश्वास गरेका छैनन्।
तपाईंहरुलाई प्रमाण चाहिन्छ भने म दिन सक्छु। कांग्रेसका कति साथीहरूलाई थाहा छ, त्यसमा ३३वर्षभन्दा तलका युवाहरुलाई कुनै स्थान छैन भनेररु म हावादारी आरोप लगाइरहेको छैन। तपाईं आबद्ध पार्टीको विधानको कुरा गर्दै छु। क्रियाशील सदस्य बन्नै कम्तीमा एक वर्ष सक्रिय राजनीति गरेको हुनुपर्ने रहेछ। रोचक त के छ भने क्रियाशील सदस्यता लिएको चार वर्ष पछि केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न पाउने र त्यसको दस वर्ष पछि मात्रै पार्टीको कुनै जिल्लाको सभापति उमेदवार हुन पाउने रहेछ।
यसरी हेर्दा निर्वाचन आयोगले १८ वर्ष पुगेको नेपाली नागरिकलाई राजनीतिक दलको सदस्यता लिन योग्य ठानेको छ। १९ वर्षमा क्रियाशील सदस्य हुन सक्छ। २३ वर्षमा केन्द्रीय महाधिवेशन प्रतिनिधि र ३३ वर्षमा मात्रै जिल्ला सभापति उमेद्वार। यो पनि सबै प्रक्रिया भनेअनुसार अगाडि बढेको खण्डमा मात्रै हो। अझ प्रदेश सदस्य र केन्द्रीय सदस्यको उमेद्वार बन्न पाउने योग्यताको अर्कै कुरा। त्यस मुनिका युवा युवा होइनन् भन्ने हाकाहाकी स्वीकारोक्ति हो कि होइन ?
एमालेको पनि हालत त्यस्तै छ। युवा नेता भनिने ५० वर्षीय योगेश भट्टराई खुलेआम आफ्नो पुस्तालाई पार्टीले स्वीकार नगरिरहेको भन्छन्। एउटा अन्तर्वार्तामा हामी दोश्रो पुस्ताका नेताहरुले दिने भनेको त्यही सुझाव मात्रै त हो भनिरहेका थिए। मूल नेतृत्वले नचाहँदासम्म के नै हुन्छ र, भनेर निरीहता प्रस्तुत गरिरहेका थिए। युवाहरुलाई पार्टीले बहिस्कार गरिरहेको छ भनेर बुझ्न, प्रभावशाली युवा नेताको यत्ति अभिव्यक्ति काफी होइन र? माओवादीको त के कुरा गर्नु। विगत २०/२५ वर्षदेखि दोश्रो तहमा समेत नयाँ अनुहार देखिएको छैन।
साथीहरु! अब म तपाईंहरूलाई सरकारी अकडा तर्फ ध्यानाकर्षण गराउन चाहन्छु। अहिले कोरोना महामारीले विकराल रूप लिएको हुनाले त्यसैको कुरा गर्दा प्रसङ्ग सुहाउँदो पनि हुन्छ। पहिलो लकडाउनताका राष्ट्र बैंकले सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार झण्डै १६ लाख रोजगारी गुमेको थियो। निजी क्षेत्रमा काम गरिरहेकाहरुको औषतमा १८.२% तलब कटौती गरिएको निष्कर्ष निकालेको थियो। यस पटक तथ्याङ्क कहाँ पुग्छ, उत्तर सहज छैन।
सरकारको प्राथमिक उद्देश्य र कर्तव्य यो परिस्थिति सहजतातर्फ उन्मुख गराउनेमा केन्द्रित हुनुपर्छ। न कि रातिको १२ बजे संसद विगठनको बेमौसमी बाजा बजाउने। राजनीतिक अभिष्ट पूरा गर्न कोरोना भाइरस सरकारको बलियो हतियार बन्न सक्ने चिन्ताहरु पनि व्यक्त भइरहेका छन्। विज्ञहरु भन्छन्, लकडाउन कोरोना परास्त गर्ने अस्थायी साधन मात्रै हो। दीर्घकालीन र निर्विकल्प उपाय भनेको खोप, खोप र फेरि पनि खोप नै हो।
सरकारसँग लकडाउनले पारेको क्षति न्यूनीकरण गर्ने र छिट्टै खोप भित्र्याउने न स्पष्ट मार्गचित्र छ, न इच्छाशक्ति! साथीहरु ! अब भन्नुस्, हामी कसरी सुखी नेपाली, समृद्ध नेपालको नारामा खुसी हुने ? हामीले उत्कृष्ट भाषण गरेकै आधारमा कसरी कसैलाई राजनेता भन्ने ? कसैले मिठो भाषण गरेकै आधारमा कसरी राम्रो नेता मान्ने ?
कसैले प्रधानमन्त्रीलाई कमेडियन पनि भछन्। तर उनलाई यो आक्षेप लगाउँदै गर्दा कमेडि क्षेत्रबाटै राजनीतिमा होमिएर एक वर्षमै युक्रेनको सत्ता नेतृत्व गर्न पुगेका र विश्वलाई नै नयाँ राजनीतिको झझल्को दिएका राष्ट्रपति भ्लादमिर जेलनस्की जस्ता ओजनदार व्यक्तिहरूको आत्मसम्मानमा ठेस लाग्छ कि भनेर डराउँछु।
यस्ता वेदनाहरु अझै धेरै छन्। कथा यत्तिकैमा समाप्त हुँदैन। हेरौ अर्को चित्र पनि।
सन्तान सानो बिरामी हुँदा पनि एक हजार, दुई हजार रुपैयाँ साहुमहानजसंग चर्को ब्याजदरमा ऋण लिने हाम्रै आमाबुवा नेपालकै गाउँघरमा छन्। यस्ता परिवारहरूको छाक टर्ने दैनिक ज्यालामजदुरीबाट नै हो। लक डाउन लम्बिदै जाँदा ती परिवारहरूको चुलो कसरी बल्दै छ भनेर सोच्ने फुर्सद सरकारसंग छैन। विपक्षीहरुले प्रश्न गर्नुपर्ने आवश्यकता नै महसुस गरेका छैनन्। किनकि सरकारको नेतृत्व गर्ने लस्करमा विपक्षीहरु पनि त लामबद्ध छन्।
प्रिय साथीहरु! विगतका महात्माहरुको अनुहार हेरेर वर्तमानका डाकाहरुको मुनि थिचिएर बस्नमा गर्व नगर्नुस्। यसले हामीलाई ब्ल्याक होल तर्फ धकेल्दै छ। जहाँ न जीवनको कल्पना गर्न सकिन्छ। न त उज्यालो भविष्यको कामना नै।
कति साथीहरुले सोचिरहनु भएको होला, हामीले तिम्रो पार्टीमा आउदा खुसी हुन्थ्यौं भनेर। वा कतिले सोचिरहनु भएको होला, अरूको पार्टी ठूलो भएकोमा कुण्ठा पोखेको! न म तपाईंहरूमाथि आक्रोस पोखिरहेको छु, न त मेरो पार्टीमा आउन आह्वान गरिरहेको छु। मेरो अनुरोध के मात्रै हो भने तपाईंहरू असक्षम, अहिलेको युग नबुझेका, प्रधानमन्त्री बन्नु मात्रै राजनीति हो भनेर बुझेका सबैलाई परास्त गर्नुहोस्। एउटा नवीन राजनीतिक भास्य निर्माण गर्न सफल हुनुहोस्।
हाम्रो देश जस्तो देवभूमिमा सत्ताका जालझेलि, पद लोलुप कसरी त्यति माथि पुगेका छन् भन्ने नै हामीले आश्चर्य मान्नु पर्ने हो। विश्व शान्तिका अग्रदूत भगवान बुद्ध, जसले शान्तिको खोजी गर्ने हेतुले राजकाज नै छोडि दिएका थिए। मानवतावादी राजा जय पृथ्बी ब. सिंह, जसले मानव धर्म फैलाउन देश नै त्याग्नु परेको थियो। मर्यादा पुरुषोत्तम श्रीराम, जसले बुवाको एक वचनमा विशाल राज्यको सम्राट पद भाइलाई सुम्पेका थिए।
यस्ता हस्तीहरुको प्रत्यक्ष प्रभाव रहेको हाम्रो देशमा निकृष्ट कार्यशैली भएका र सत्ताका भोका/लोभी मान्छेहरूलाई हामी पटक पटक आफ्नो नेता मान्दै, उनीहरूलाई नै स्वीकार गर्दै, सत्तामा दोहोर्याउदै आइरहेका छौं। यो आफैमा दुःखद र अनौठो हो। वास्तवमा भन्ने हो भने हाम्रा पुर्खाहरूमाथिको अपमान पनि हो।
यति टाढाको उदाहरण हेर्न मन नलागे नजिकैका गणेशमान, कृष्णप्रसाद, बिपी र मदन आदिलाई हेर्न सक्छौं। कम्तीमा वहाँहरुको त गरिमा ख्याल गर्ने कोसिस गरौं।
साथीहरु! अन्तिममा एउटा अर्को अनुरोध गर्न चाहन्छु। हामी सबैलाई चाहिने, अति आवश्यक, राजनीतिभन्दा माथि उठेर एउटा माग जोडदार रूपमा उठाउन जरुरी छ। राजनीति जुनसुकैतिर मोडियोस्, प्रधानमन्त्री जोसुकै बनोस्, अदालतले जुनसुकै पार्टीलाई विजय घोषित गरोस्, हामी त्यसमा आवश्यक ठाउँमा आ आफ्ना अनुकूलता अनुसार विचार राखौँला। तर अहिलेलाई सबैले एक मतले भनौं:
सरकार!
हामीलाई गरिखान दे,
मैले लगाउने खोप खै?
तपाईहरुको साथी
रोहित चन्द
हाल कञ्चनपुर, बेलौरी देखि
(संयोजक: विवेकशील साँझ युवा संगठन, सुदूरपश्चिम प्रदेश)