कैलालीका वनमा चोरी तस्करी, वन अधिकारीको जवाफः बेरोजगार युवा थुप्रिएपछि तस्करी
निषेधाज्ञाको मौका
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ कम्दामा लुकाएको ३० गोलिया सालको काठ गत साता डिभिजन वन कार्यालय धनगढीको समूहले बरामद गर्यो। स्थानीय नरबहादुर बमको पोखरीको खाडलमा लुकाई राखेको ३ लाख ७० हजारको लगभग ४ सय क्यूफीट सालको काठ डिभिजन वन कार्यालयले बरामद गरेर धनगढी ल्याएको छ।
तर निषेधाज्ञाको समयमा वनबाट काठ तस्करी गर्ने तस्कर तथा मतियारहरुलाई भने डिभिजन वन कार्यालयले पक्राउ गरेको छैन्। छानबिन समिति गठन गरिएको डिभिजन वन कार्यालय बढैपुरका प्रमुख चन्द्र भण्डारीले बताए।
उनले भने, “धनगढीको टोलीको सहयोगमा काठ बरामद गरेका हौ। उहाँहरुले छानबिना गर्दैहुनुहुन्छ। डबल बोहरालाई छानबिनको जिम्मा दिइएको छ।”
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरको पूर्णिमा सामूदायिक वन क्षेत्रबाट समेत दैनिक तस्करी हुँदै आएको दाबी गरिएको छ। स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेपछि वन कायर्मचारीको समेत सक्रियता कम भएकाले तस्करी बढेको बताइएको छ।
गौरींगगगामा ४ सय क्यूफीट सालको काठ बरामद र दिनदिनै लम्कीमा हुँदै गरको तस्करी केही उदाहरण मात्र हो। पछिल्लो समय महामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको मौका छोपेर कैलालीका राष्ट्रिय तथा सामुदायिक वनहरुबाट निषेधाज्ञाको समयमा वन पैदावरको चोरी तस्करी बढेको छ।
गाउँमा बेरोजगार युवा थुप्रिएपछि तस्करी
जिल्लाका विभिन्न वनहरुबाट निषेधाज्ञाको समयमा चोरी–तस्करी हुने गरेको वनका कर्मचारीहरुले नै स्वीकार गरेका छन्।
निषेधाज्ञा जारी गरेपछि वनका कर्मचारीको सक्रियता घटेको छ। सोही मौकाको फाइदा उठाउँदै चोरी तस्करी बढेको बताइएको हो। तर वन अधिकारीहरु भने गाउँघरमा बेरोजगार युवा बढेपछि तस्करी हुने गरेको प्रतिक्रिया दिएका छन्।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले भने, “भारतबाट युवाहरु आएका छन्। उहाँहरु बेरोजगार छन्। तस्करीमा समेत उहाँहरुको सहभागिता हुने गरेको छ। तर वृद्धि भएको भन्न मिल्दैन। महिनामा १७÷१८ घटनाहरु हुँदै आएको छ।”
वन पैदावरको चोरी–तस्करीसंगै संस्थागत अतिक्रमण समेत निषेधाज्ञाको समयमा हुने गरेको पाइएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ को टेङ्गना सामुदायिक वनमा निर्माण थालिएको सहकारीको भवनको निर्माण कार्य वनका कर्मचारीले रोकेका छन्।
धनगढीको शिवपुरी सामुदासयिक वन क्षेत्रमा नै विभिन्न संस्थागत भौतिक संरचनाहरु निर्माण हुँदैछन्। तर सव–डिभिजन वन कार्यालयहरु, डिभिजन वन कार्यालय धनगढी बेखबर देखिएको छ।
तर डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी डबल बोहराले गौरीगंगाको घटनाको छानबिन थालिएको बताए।
उनले भने, “लकडाउनका कारण केहि समस्या भएको छ। हामी छानबिन गर्छौ। अन्य ठाउँमा पनि भएका छन्। तर हामीहरु पनि सक्रिय छौ। अन्य ठाउँमा पनि घटनाहरु भएका छन्।”
उनले संस्थागत अतिक्रमण सबै भन्दा बढी कैलालीमा रहेको बताए। उनले भने, “संस्थागत अतिक्रमण जिल्लामा धेरै छ। अतिक्रमण गरी भवनहरु शिलान्यास र उद्घाटन समेत भएका छन्। तर निर्माण कार्य रोकेका छौ।”