आश्रय लिएर बसेकाहरुलाई दशैँको उल्लासले छोएन
हिन्दूहरुको महान चाड वडा दशैँ नजिकिएसँगै यतिबेला गाँउ बस्तीमा चहल पहल बढेको छ। दशैँ मान्न विदेशबाट घर फर्किनेहरुको सीमा नाकामा निकै भीडडभाड छ। काम र अध्ययनको सिलसिलामा शहर पसेकाहरु पनि धमाधम गाँउघर फर्किदै दशैलाई भव्य रुपमा मनाउने योजना बुनिरहेका छन्। दशैँकै कारण यतिखेर बजारमा खसि, बोका, भेडा, कुखुराको कारोवार पनि ह्वात्तै बढेकोे छ। सबैले खसिबोकाको जोहो गरिरहेका छन्। तर धनगढीका विभिन्न आश्रममा बस्दै आएकाहरुलाई भने दशैँको उल्लासले छोएको छैन्।
उनीहरुको दशैँ पनि अरुको जस्तै बनोस भन्दै दाताहरुसँग सहयोग माग्न थालिएको छ। दृष्टि फाउण्डेसन कैलालीकी अध्यक्ष कल्पना भट्ट गाँउ गाँउमा पुगेर यतिखेर सहयोग मागिरहेकी छिन्। आइतबार मात्र कल्पनाले धनगढीको फुलबारी पुगेर गाँउलेहरुलाई क्षमताले भ्याए अनुसार खाद्यान्न, माछा मासु, लुगाफाटो दिएर सहयोग गरिदिन आग्रह गरेको बताईन्। दशैँका बेला अघाउने गरी मासु खाने चलन छ।
तर दाताहरुको सहयोगमा सञ्चालन भई सहारा विहिनहरुको सहारा बनेका विभिन्न आश्रममा आश्रय लिएकाहरुलाई अघाउने कुराले त छुदैन यद्यपी सहयोगी मनहरुबाट सहयोग प्राप्त भए भव्य दशैँ बन्ने आशा आश्रय लिएर वसेकाहरुको छ। अघिपछि दाताहरुबाट सहयोग मिल्ने भएपनि दशैँकै लागि भनेर अहिले नै सहयोग प्राप्त भइसकेको छैन्। तर सहयोग मिल्ने आशा भने उनीहरुमा जिवित छ। आमाको माया छात्रवास सञ्चालक समितिका अध्यक्ष देव बहादुर चौधरीले छात्रबासमा बसेका विद्यार्थीहरुलाई समितिका पदाधिकारीले नै टिका जमरा लगाईदिने बताए। छात्रवासमा बस्दै आएकाहरु पनि विगतमा जस्तै सञ्चालकहरु कहाँ गएर टिका ग्रहण गर्ने तयारी गरिसकेका छन्।
आश्रमहरुले सबैले जस्तै खसि बोका नै खोज्न त सकेका छैनन्। यद्यपी उनीहरुलाई खल्लो महसुस नहोस भनेर पसलबाटै भएपनि मासु खरिद गरेर खुवाउने तयारी समेत गरेको परिवार बाल गृहकी सञ्चालीका सानु चौधरीले बताईन्। दशैँको टिका र जमरा लिन आश्रम सञ्चालकहरु कहाँ जाने गरिएको छ भने परोपकारी मनहरुबाट सहयोग प्राप्त भए अरुले जस्तै भव्य रुपमा दशै मनाउन सकिने उनीहरुको आशा छ।