बैतडीको झुलाघाटबाट भित्रिएका संक्रमितको मृत्यु, अक्सिजन अभावमा रेफर भएका थिए डडेल्धुरा
डीआर भट्ट, बैतडी : अक्सिजन अभाव भएर डडेल्धुरा रेफर गरिएका बैतडीका कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–९ का अन्दाजी ३३ वर्षीय ती कोरोना संक्रमितको मंगलबार राति डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्य भएको हो।
बैशाख ११ गते राति स्वास फेर्न असहज भयो भनेर १२ गते जिल्ला अस्पतालमा भर्ना भएका उनीमा चेकजाँच गर्दा कोरोना पुस्टि भएको थियो। १२ गते दिउँसो गरिएको चेकजाँचमा कोरोना पुस्टि भएपश्चात जटिल समस्या देखिएपछि सोहिदिन साँझ उनलाई डडेल्धुरा अस्पताल रेफर गरिएको थियो।
अक्सिजनको मात्रा अत्यधिक कम भएकै कारण मृतक संक्रमितलाई डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताए।
मृतक युवकको ट्राभल हिस्ट्री
परिवारिक स्रोतका अनुसार मृतक युवक भारतबाट फर्किएका हुन। भारतमा रोजगारीका लागि गएका उनी बिरामी भएर नेपाल फर्किएका थिए।
झुलाघाट नाका भएर उनी बैशाख ९ गते घर पुगेका थिए। उनको भुलाघाट नाकामा पनि कोरोना परीक्षण भएको परिवारिक स्रोत बताउँछ।
भुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना रिपोर्ट लिएर घर पुगेका उनीमा त्यसपछि सामान्य खालको ज्वरो आउने लक्षण देखिएको थियो।
तर बैशाख ११ गते अलि बढी भएपछि उनी अस्पताल पुगेका थिए। परिवारले दिएको जानकारी अनुसार उनलाई निमोनिया र टाइफाइट भइरहन्थो।
मृतकको सम्पर्कमा रहेका नागरिक र परिवारका सदस्यहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताएका छन्।