सुदूरपश्चिममा कोरोनाको ‘नयाँ भेरियन्ट’ले परेशानी, नमुना देश बाहिर पठाउनु पर्ने बाध्यता
धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना देखिदै आएको छ। हालसम्म ३ जनामा कडा खालको लक्षण देखिने कोरोनाको नयाँ प्रकार देखिएको हो।
तर प्रदेशका कुनै पनि प्रयोगशालामा कोरोनाको नयाँ प्रकार परीक्षण गर्ने उपकरण नहुँदा समस्या भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोनाको नयाँ प्रकारको परिक्षणका लागि आवश्यक उपकरण र अन्य स्वास्थ्य सामग्री नभएको बताएका छन्। जुनकारण नमुना परीक्षणको लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ। केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट पनि देश बाहिर पठाउँनुपर्ने बाध्यता सिर्जना भएको शाहीको भनाइ छ।
उनले भने, “जीन सिक्वेन्सीङ मेसिन नभएकोले बाहिर पठाउनुपर्ने बाध्यता छ। हामी कहाँ भएको प्रयोगशालामा नमुना परीक्षण रिपोर्टमा ‘एस’ जीन पोजिटिभ देखिएपछि शंकास्पद तथा नयाँ प्रजाति (भेरिन्ट)को हो कि भनेर त्यसलाई थप परीक्षणको लागि बाहिर पठाउँनु परेको छ।”
सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताललगायत विभिन्न अस्पतालका प्रयोगशालामा कोरोनाको परीक्षण हुँदै आएको छ। जुनकारण नयाँ प्रकारको कोरोना परीक्षणका लागि काठमाण्डौ पठाउनुपर्ने बाध्यता थपेको हो।
तर प्रदेश सरकार तथा सम्बन्धित अस्पतालबाट प्रदेश स्तरमै नयाँ प्रकृतिको कोरोना परीक्षणको लागि आवश्यक यन्त्र उपकरणको व्यवस्थापन हुन नसकेको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले सुदूरपश्चिममै नयाँ प्रकृतिको कोरोना परिक्षणका लागि उपकरण र अन्य स्वास्थ्य सामग्री मागका लागि पहल जारी रहेको बताए। तर नेपालमै नयाँ रहेकोले अन्योलता पनि उत्तिकै रहेको उनको भनाइ छ।
उनका अनुसार अहिलेसम्म कोरोनाको युके, ब्राजिलियन, साउथ अफ्रिकन, अष्ट्रेलियन भेरियन्ट (प्रकार) देखिएको छ। जसमध्ये युके भेरिन्ट फैलिने दर उच्च रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन्।
सुदूरपश्चिममा देखिएको नयाँ प्रकारको परीक्षणको लागि केन्द्रीय जनस्वास्थ्य प्रगोगशालामार्फत हंकङ पठाइएको बताइएको छ। २० वटा नमुना परीक्षणको लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा चैत १५ गते पठाएको र जसमध्ये ३ जनामा नयाँ प्रकारको कोरोना र बाँकीमा सामान्य प्रकारको कोरोना देखिएको सूचना अधिकारी श्रेष्ठ बताउँछन्।
कञ्चनपुरको कष्णपुर नगरपालिका, डोटीको जोरायल र डडेल्धुराको पर्शुराम नगरपालिकाका १/१ जना गरि ३ जनामा नयाँ प्रकारको कोरोना देखिएको हो। उनीहरु सबै होम आइसोलेसनमा बसेको बताइएको छ। उनीहरु तीनै जना भारतबाट नेपाल आएको बताइएको छ।