सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ वर्षसम्म पनि बनेन सुर्नया गाडमा मोटरेबल पुल, स्थानीय समस्यामा

२०७७ चैत्र १८, ०१:३३ खबर संवाददाता

डीआर भट्ट, बैतडी: बैतडीको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्र्तगत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन्। ६ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पूर्ण भएको नभएको हो।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएपनि निर्माणको कामले अहिलेसम्म पूर्णता पाउन नसकेको लोर्खा सकार कैलपाल त्रिपुरेश्वर मोटरेबल पुल निर्माण संघर्ष समितिले जनाएको छ। 

निर्माण कार्य प्रारम्भ गरेको साढे ६ वर्ष बढी समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु आक्रोशित बनेका छन्।  ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयहरुको आरोप छ। 

निर्माण सम्पन्नको पर्खाइमा बस्दाबस्दै ६ वर्ष बित्नै लाग्दापनि निर्माण कार्यले पूर्णता नपाएको पाटन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ललितबहादुर चन्दले बताए। मोटरेबल पुल निर्माण नहुँदा पाटन नगरपालिका १ र ७ का नागरिकहरुलाई समस्या भएको उनको भनाई  छ।  

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने त्यहाँको स्थानीयहरुको बाध्यता रहेको छ। सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ। 

यता निर्माणको जिम्मा पाएको एसके निर्माण सेवा कम्पनीले भने असार मसान्तभित्र पुल निर्माण भइसक्ने दाबी गरेको छ। निर्माण कम्पनीका प्रोपाइटर एवम् ठेकेदार मदनमोहन विष्टले भने ७० प्रतिश काम भइसकेकोले अषाढ मासन्तमै पुल निर्माण भइसक्ने बताएका छन्।

२०७१ भदौ १५ गते पुल निर्माण लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने  ठाउँमा जाने बाटोको विवाद, १ वर्ष संघ र प्रदेश मध्ये कसले हेर्ने भन्ने अन्यौलता र एक वर्ष कोरोनाका कारणले पुल निर्माणमा ढिलाइ भएको उनकोे भनाई छ। 

‘पुल निर्माण हुने ठाउँ भन्दा ९ सय मिटर यता गाउँ र खेत परे उनले भने, ‘त्यस्तै मुआब्जाका लागि विवाद भयो, त्यो विवाद समाधान भएर काम सुरु गरिएपनि संघको कार्यालय र प्रदेश मध्ये कसले हर्ने भन्नेमै एक वर्ष वित्यो। ढिलाइ त्यसरी भएको हो।’

सडक डिभिजन पाटनका प्रमुख रमेश चौधरीले पनि यो आर्थिक वर्षभित्र पुल निर्माण कार्यले पूर्णता पाउने बताएका छन्। 

संघर्ष समितिले गत असोज १२ गते निर्माणाधिन अवस्थामा रहेको मोटरेबल पुल यथाशिघ्र निमार्णको माग गर्दै सडक डिभिजन कार्यालय पाटन र जिल्ला प्रशनसन कार्यालय बैतडीलाई ज्ञापनपत्र बुझाएको थियो। 

चालु आर्थिक वबर्षको चैत मसान्त भित्रै पुल निर्माण सम्पन्न हुनेगरी पहल गरीदिन संघर्षसमितिले सम्बन्धित निकायलाई आग्रह गरेको थियो।

तर त्यसपछि काम सुरु भएपनि चैत मसान्त भित्रै निर्माणले पूर्णता पाउने असम्भव देखिएको छ।  

निर्माण कम्पनी र सडक डिभिजन पाटनले यो अर्थिक वर्षभित्रै पुल निर्माणको काम सम्पन्न हुने दाबी गरेपनि वर्षादमा काम गर्न अप्ठेरो हुनेहुँदा यो आर्थिक वर्षभित्रै काम सम्पन्न हुनेमा स्थानीय नागरिकहरु विश्वस्त छैनन्। 

कमेन्ट लोड गर्नुस