सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर नामले राज्यबाटै दूर पारिएको प्रदेश ७ ले फेरी स्वीकार्ला सुदूर ?

२०७५ असोज १०, १०:०४

सुदूरपश्चिमेलीहरुको विगतका दिनमा सधैको प्रश्न थियो, सुदूरपूर्व नरहेको देशमा सुदूरपश्चिम नाम किन? नामले नै सुदूरपश्चिमलाई दूरको क्षेत्र बनाइएको हो? प्रदेश नम्बर ७ का बासिन्दाले अब नामबाटै छुट्टै पहिचान खोजिरहेका बेला संसदीय समितीले फेरी सोही नामलाई यथावत राख्न सुझाव दिएको छ। 
धेरैले नाम ठुलो कुरा होईन काम ठुलो भन्दै चर्चा गर्छन। तर नामले नै ठाउँको पहिचान बोकेको हुन्छ भन्ने कुराको भने हेक्का राखिएको छैन्। थुप्रै पर्यटकीय क्षेत्र र धार्मिक क्षेत्र भएको यो क्षेत्रमा सोच विचार गरेर मात्र प्रदेशको नामाकरण गर्न प्रदेश नम्बर ७ का बासिन्दाले सुझाव दिदै आएका थिए। तर संसदीय समितीले सत्तापक्षका केहि ठूला नेताहरु सुझावलाई नै समग्र सुदूरपश्चिमवासीको सुझाव भएको भन्दै प्रदेश सभामा पेश गरेको छ। जस्ले गर्दा विगतमा सुदूर नामले नै राज्यबाटै दूर पारिएको प्रदेश ७ ले फेरी त्यहि नामलाई स्विकार्ला त? भन्ने पेचिलो प्रश्न खडा भएको छ।  परिवर्तनका ठुला नारा बोक्दै सत्तामा पुगेका नेताहरुले फेरी पनि पञ्चायती व्यवस्थामै राखिएको नामलाई यथावत राख्ने कसरत गर्नु धेरै प्रदेशवासीका लागि असन्तुष्टीको विषय बनेको छ। 
संसदीय समितीले प्रदेश सभामा पेश गरेको प्रतिवेदनमा समग्र प्रदेशको गौरव झल्काउने नाम राखिएको उल्लेख गरिएको छ। के प्रदेश नम्वर ७ को गौरव नै सुदूर हो त ?  विगतमा नामले सुदूर अर्थात् सबैभन्दा दूरको पहिचान दिएपछि सबैभन्दा पिछडिएको विकास क्षेत्रको रुपमा सुदूर पश्चिमाञ्चलको वर्णन हुन लाग्यो। सुदूरपश्चिमबासीहरु आफैँ पनि आफँैलाई सुदूर अर्थात सबैभन्दा दूरको को भन्दै परिचित गराउन थाले। नाम ठुलो कुरो होईन काम ठुलो कुरो हो ठिक छ। तर नामले ठाउँको पहिचान बोकेको हुन्छ भन्ने कुराको त हेक्का राख्नैपर्छ । अर्को कुरा के हाम्रा नेताहरु नाम जे राखेपनि काम गर्ने मनसायका छन् त ? यो पनि धेरैको जिज्ञसाको विषय हो।
कैलाली उद्योग वाणिज्य संघले तत्कालीन अध्यक्ष गोपाल हमालको नेतृत्वमा सुदूरपश्चिमलाई सुन्दर सुदूरपश्चिमको नामले चिनाउने प्रयास र्गयो । सुन्दर सुदूरपश्चिम अभियानले तीव्रता पाएपछि यस क्षेत्रका बासिन्दा पनि आफूलाई सुन्दर क्षेत्रको भएको भन्दै परिचित गराउन थाले। अहिलेको सरकारले पनि सोही पहिचानलाई निरन्तरता दिने झल्को दिएपछि धेरै प्रदेशवासीले आलोचना गरेका छन्। उनीहरुले सुदूरलाई सुन्दर बनाउन पनि कन्जुसाई गर्नुको जवाफ मागेका छन्। 
कुनै पनि आन्दोलनको मर्म र नागरिकको माग विपरीत देशलाई धर्म निरपेक्ष घोषणा गरिएकाले प्रदेश नम्बर ७ को नामाकरणमा पनि प्रदेशसभाले त्यस्तै त्रुटी त गर्ने होईन भन्ने आशंका बढेको छ। मानसखण्ड विकास समाजका संस्थापक सचिव आचार्य घनश्याम लेखकले प्रदेश नम्बर ७ को नामाकरण मानखण्ड प्रदेश आवाज उठाइरहँदा यस्तै आशंका व्यक्त गरेका थिए। 
शास्त्रीय एवं ऐतिहासिक दृष्टीले हेर्दा पुण्यभूमि ऋषि क्षेत्र, देवभूमिका रुपमा मानसखण्ड अर्थात् ७ नम्बर प्रदेशलाई हेरिएकोले प्रदेशको नामले नै पहिचान झल्काउनुपर्ने तर्क लेखकको छ।  विभिन्न देवी देवताका चरण पादुका शिला, अनेक पर्वत गुफा, फल्टुडेमा रहेको कृष्ण पादुका, डोटीमा रहेको सीताका पाइला, ज्वाला क्षेत्र, बैतडीमा रहेको रामपादुका र विभिन्न ऋषिमुनीहरुले तपस्या गरेका उदाहरण हुँदा हुदै पनि प्रदेश ७ को नाम फेरी सुदूरपश्चिम नै राख्नु धेरैका लागि स्विकार गर्ने विषय बन्न नसकेको हो। प्रदेशको नामाकरणका लागि मानसखण्डसँगै, डोटी, सुन्दराञ्चल, सुन्दरपश्चिम, खप्तड कञ्चन, अपी सैपाल, सेती–महाकाली पनि चर्चामा थिए। सुदूर नाम राखेर राज्यले नै सबैभन्दा दूरका भनेर अपहेलना गरेको हुँदा त्यसैको भर्पाई गर्ने गरी प्रदेश नम्वर ७ को नामाकरण गर्नुपर्ने गोदावरी धाम विकास समितिका अध्यक्ष तथा सस्कृतिविद् पदमराज जोशीले बताउँदै आएका छन्। 
प्रदेशको नामले नै उक्त प्रदेशको धेरै पहिचान बनाउने भएकाले विज्ञहरुबाट सुझाव लिनुपर्ने र नामबाटै प्रदेश नम्बर ७ को पहिचान बनाउन पर्ने तर्क नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बासुदेव पाण्डेयको पनि छ। प्राज्ञ पाण्डेयका अनुसार जातीयता र क्षेत्रीयताका नाराले विगतदेखि नै आन्दोलनको भुमरीमा परिरहेको प्रदेश नम्बर ७ भएकाले यहाँका ९ वटै जिल्लाका सबै समुदायलाई अपनत्व अनुभव हुने गरी प्रदेशको नामाकरण गर्नुपर्छ। जुन नामले प्रदेश नम्बर ७ का बासिन्दालाई खुलेरै प्रदेशको नाम लिन सहज हुने छ। कैलाली कञ्चनपुरमा थारु समुदायको ठूलो बसोबास रहेको छ। प्रदेशको नाम र सिमानाका लागि यसअघि फरक–फरक आन्दोलन पनि भइसकेका छन्। त्यसैले तराई र पहाडको भावनामा पनि ठेस नपुग्ने गरी प्रदेशको नामाकरण गरिनुपर्छ।
तर प्रदेशको नामाकरणका लागि गठित संसदीय समितीले भने राष्ट्रिय राजनीतिमा दख्खल राख्ने केहि नेताहरु बाहेक कसैसंग पनि छलफल नगरेको गुनासो बढ्दै गएको छ।
 

कमेन्ट लोड गर्नुस