धनगढीमा राष्ट्रिय आवास कम्पनीले २१ वर्षअघि प्राकृतिक ताल व्यक्तिलाई बिक्री गरेको खुल्यो
धनगढीः धनगढी उप–महानगरपालिकामा राष्ट्रिय आवास कम्पनीले नै प्राकृतिक तालहरु व्यक्तिलाई बिक्री गरेको पाईएको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ मा रहेका चार वटा ताल राष्ट्रिय आवास कम्पनीले बिक्री गरेको पाइएको हो।
करिब २१ वर्षअघि बिक्री गरिएका चार तालमध्ये एक तालको अस्तित्व नै समाप्त भएको छ। राष्ट्रिय आवास कम्पनीले आफ्नो स्वामित्वमा रहेका ताल बिक्री गरेको कुरा स्वीकार गरेको छ।
संरक्षणको दायित्व बोकेका सार्वजनिक निकायले व्यक्तिलाई प्राकृतिक ताल बिक्री गरेकै कारण जुगेडा ‘बी’ गाउँको खेत प्लटमा रहेको छेडा ताल भने स्थानीयले अतिक्रमण गरी खेतमा रुपान्तरण गरेको स्थानीयले बताएका छन्।
राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका ५ मध्ये ४ वटा प्राकृतिक ताल व्यक्तिलाई बिक्रि गर्नुपर्दाका आधारहरु बारे भने स्थानीय बेखबर छन्। प्राकृतिक तालको संरक्षण गरेर प्राकृतिक रुपमा जस्ताको त्यस्तै रहन दिनुपर्नेमा सरकारी निकायले नै गैरजिम्मेवार तरिकाले ताल व्यक्तिको नाममा नामसारी गरेको भन्दै उनीहरु आक्रोशित भएका छन्।
यसो हुनुमा तत्कालिन अधिकारीले आर्थिक चलखेलमा ती तालहरु व्यक्तिलाई बिक्री गरेको हुनसक्ने जुगेडाका स्थानीयले आशंका गरेका छन्।
‘२० वर्ष अगाडि जुगेडाका तालहरु सार्वजनिक थिए। हामी गाई भँैसीलाई पानी खुवाउथ्यौँ। स्थानीय थारु जातीले माछा मार्ने गर्दथे,’ स्थानीय शुकबहादुर तामाङ्गले भने,‘ताल सार्वजनिक थिए। मन्दिरको नाममा थिए भन्ने गरिन्थ्यो तर पछि गएर ती सबै तालहरुको अधिकार व्यक्तिमा गयो। अहिले कसको नाममा लालपुर्जा छ त्यो थाहा छैन तर सुरुमा रुपबहादुर खड्काले किनेको भन्ने सुनिन्थ्यो।’
राष्ट्रिय आवास कम्पनीले नै बिक्री गरेको जुगेडाको ‘ए’ गाउँ र ‘बी’ गाउँको सिमानामा पर्ने तिनखण्डा ताल अहिलेपनि अस्तित्वमा छ। झण्डै १२ विघा क्षेत्रफलमा फैलिएको सो तालमा सुख्खायाममा समेत प्रशस्त पानी देख्न सकिन्छ।
तर सो ताल सरकारकै स्वामित्वमा रहेको भए पानी सञ्चीत र वार्षिक ठेक्काबाट सरकारले लाभ लिन सक्दथ्यो। २०५६ सालमै बिक्री भएको हुँदा राज्यले सो तालमाथिको हक गुमाएको छ भने स्थानीयले समेत कुनै लाभ लिन सकेका छैनन।
‘जुगेडामा रहेका प्राकृतिक तालहरु सरकारी निकायले नै संरक्षण गरेको भए पर्यटन प्रबद्र्धन वा लिजमा दिएर वार्षिक ठूलो राजश्व प्राप्त गर्ने थियो,’ अर्का स्थानीय टंकबहादुर डाँगीले भने,‘तर त्यो सम्भावना ख्यालै नगरी ताल बिक्री गर्नु गलत थियो।’
जुगेडामा रहेको तिनखण्डा तालको समुहमा तीन वटा ताल रहेका छन्। ती सबै ताल हाल व्यक्तिको नाममा दर्ता भएका छन्।
अहिले निजी सम्पत्ती बनिसकेका ती तालहरुलाई चारैतिरबाट पुर्ने काम पनि भइरहेको छ।
गुम्बा डाडाको ताल भने स्थानीय विजय लामाले किनेको कम्पनीले जनाएको छ। सो तालका दुई खण्ड देख्न सकिन्छ।
चौँथो तालको रुपमा रहेको मटकन्नी ताल तत्कालिन सयममा सोही ठाउँका नगेन्द्र मल्लले खरिद गरेकोमा अहिले माटो भरान गरेर प्लटिङ गरी दर्जनाँै घरेडीमा परिणत भएको स्थानीयले वालकुमार रानाले बताए।
राष्ट्रिय आवास कम्पनीका तत्कालीन महाप्रबन्धक शैलेन्द्र प्रसाद सिंहले २०५५÷५६ मा प्रति बिघा ६० हजारको दरमा बिक्री गराएको राष्ट्रिय आवास कम्पनीका प्रमुख सर्वजित राईले बताए।
‘तालको स्वामित्वको विषयमा नगरपालिकासँग विवाद समेत भएको र कैलाली जिल्ला अदालतबाट नगरपालिकाले मुद्दा हारेपछि कम्पनीले ताल व्यक्तिलाई बिक्री गरेको हो,’ राईले भने।
जुगेडाको ‘बी’ गाउँको खप्तड इटा भट्टा नजिक खेत प्लटमा रहेको छेडा ताल ८ विघा क्षेत्रफलमा फैलिएको छ। उक्त ताल भने कम्पनीकै स्वामित्वमा भएपनि केही स्थानीयले अतिक्रमण गरेका छन्।
तत्कालीन समयमा राष्ट्रिय आवास कम्पनीले अन्य प्राकृतिक ताल बिक्रि गर्नुको कारण भने अनुत्तरित छ।
ती ताल बिक्री गरिएका कागज पत्र सहित कम्पनीको कार्यालयमा समेत तात्कालिन माओवादी विद्रोहीले आगजनी गर्दा खोज्दा समेत प्रमाण भेट्टाउन नसकिने अवस्था रहेको बताइएको छ।