दार्चुलाका युवक हत्याको आरोपमा ४ जना पक्राउ
दार्चुला: दार्चुलाका युवकको हत्यामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन्।
गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्या गरेको आशंकामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरुको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।
गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्री मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भँगालोमा मृत भेटिएका थिए।