सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयले गाउँपालिकाकै निवेदन १ वर्षसम्म थन्काएपछि...
धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो एक व्यक्ति आक्रोश पोख्दै थिए, ‘म गाउँपालिका अध्यक्षको काम त हुँदैन, सामान्य जनताको काम झन के होला यहाँ ?’
मुख्यमन्त्री कार्यालयमा निवेदन पेश भएको एक वर्ष हुँदा पनि काम नभएको भन्दै उनी गुनासो गर्दै थिए। दिउँसो १ बजे मुख्य सचिव रामकृष्ण सुवेदीको कार्यकक्षमा प्रवेश गरेका उनी भन्दै थिए, ‘मेरो काम किन नभएको ? मुख्यमन्त्रीले रोक्नुभएको हो ? रोक्नुभएको भए भन्नुहोस, म उहाँसँगै कुरा गर्छु।’
ती आक्रोशित व्यक्तिलाई मुख्य सचिव लगायका कर्मचारी सम्झाउदै थिए। सचिव सुवेदी सम्झाउँदै भन्दै थिए, ‘केहि कारणले रोकिएको होला। तपाईको काम हुन्छ, हामीलाई सहयोग गर्नुपर्याे।’
मुख्यमन्त्रीको कार्यालयसँग आक्रोसित हुने ती व्यक्ती थिए दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मान्नद सिँह मन्याल। उनी गाउँपालिकाको नाम र वडा विभाजनका लागि पेश गरिएको निवेदन एक वर्ष हुँदा पनि केन्द्र नपठाएकोमा आक्रोशित भएका थिए।
दिनेश खबरलाई गुनासो गर्दै उनले भने, ‘गाउँपालिकाको नाम संसोधनको निवेदन पेश गरेको थिए। हिमाल हटाएर, अपि गाउँपालिका राख्न खोजेका छौ। र अर्काे कुरा १८ किलोमिटर लम्बाईमा रहेको वडा टुक्र्याएर अर्काे थप वडा बनाउने भनेका छौ। प्रदेशले गर्नुपर्ने सिफारिस केन्द्रमा अझै पुगेको छैन।’
अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मान्नद सिँह मन्यालका अनुसार गाउँ कार्यपालिकाले २०७६ पुस १० गरेको निर्णय १९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको छ।
तर उक्त निवेदन मुख्यमन्त्री कार्यालयले केन्द्र पठाएको छैन। केन्द्रमा निवेदन समेत नगएकाले गाउँपालिकाको नाम र वडा टुक्र्याउने काम रोकिएको उनको गुनासो छ।