धनगढीका ४ प्राकृतिक ताल मासेर घर बन्दै, लालपुुर्जाको लागि भूमि आयोगमा निवेदन
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेका ४ ताल अतिक्रमणको चपेटामा परेको छ।
वडास्थित आटा गडैया, लम्बा, मनैया गडैया, सडुवा गडैया तालहरु केवल नाममा मात्रै सीमित रहेको स्थानीयले बताएका छन।
स्थानीय शंकर रानाले वडामा भएका तालहरु बढ्दो शहरीकरण सँगै अतिक्रमणको चपेटामा परेको बताए।
रानाले भने, “सडुवा तालको दक्षिणतर्फ रहेको पृथ्वी टोलमा मनैया गडैया ताल रहेको छ। सो तालको अहिले अस्तित्व नै समाप्त भएको छ। मनैया गडैया ताल पुरेर १५ घर निर्माण भएका छन्। भने केही घर बन्ने क्रममा रहेका छन्। पहिला अलि गहिरो ताल थियो तर अहिले भने पुरै तालमा घर बनेका छन्।”
वडास्थित सडुवा टोलमा रहेको सडुवा गडैया तालमा पनि स्थानीय जयलाल रानाले ६४ पिलरको घर निर्माण गर्न थालेका छन्। तर धनगढी उपमहानगरपालिकाले प्राकृतिक तालमा घर नबनाउन पत्रचार गरेको छ।
अन्य अतिक्रमित ताल खाली गराउँन चेतावनी
तर जयलाल रानाले भने आसपासमा रहेका अन्य तालमा घर निर्माण हुँदा मौन बस्ने नगरपालिकाले आफुलाई मात्रै काम रोक्न लगाएर अन्याय गरेको बताएका छन्। झण्डै ३ बिघा क्षेत्रफल रहेको सो तालमा ७ घर निर्माण गरिएका भएपनि आफूलाई मात्रै नगरपालिकाले रोक्न भनेको छ।
“अरु तालमा बनेका घर समेत हटाए म पनि काम रोक्न तयार छु। तर त्यसका लागि नगरपालिकाले समय दिनुपर्छ। यदि अरुका घर हटाइएन भने हामी पनि घर बनाउन सुरु गछौँ” रानाले आक्रोश व्यक्त गरे।
सडुवा तालको केही दुरीमा आटा गडैया ताल रहेको छ। सो ताल झण्डै ३ बिघामा फैलिएको स्थानीयले बताउँछन्। सो तालको जग्गामा ४ वटा घर बनाइएको स्थानीयले बताउँछन्।
वडा नम्बर ७ कै भानु चोकमा झण्डै ७ विघा क्षेत्रफलमा फैलिएको लम्बा ताल रहेको स्थानीयले बताएका छन्। सो ताल क्षेत्रमा ३ दर्जन घर निर्माण भएका छन्। अहिले सो तालको अस्तित्व नै नामेट भएको छ। तर त्यहाँ घर बनाएर बसेका स्थानीयले भने भूमि सम्बन्धी समस्या समाधान आयोगबाट लालपुर्जा पाउने आशामा निवेदन दिएका छन्।
लालपुर्जाको लागि आयोगमा निवेदन
“यहाँ बस्न लागेको ३६ वर्ष भयो धेरै पटक जग्गाका लागि निवेदन दिइयो तर अहिलेसम्म तालको जग्गा भनेर लालपुर्जा दिएका छैनन्। यो वर्ष पनि फारम त भरेका छौँ खै के गर्छन। हामीसँग अन्यत्र कहीँ पनि जग्गा भने छैन।” स्थानीय चंखा विश्वकर्मा भनिन्।
प्राकतिक ताल संरक्षणतर्फ भने नगरपालिकाको ध्यान पुग्न नसकेको पाइएको छ।
उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने,“‘सडुवा तालमा बन्न लागेको एक भवन मात्रै रोक्न आदेश गरेको तर अन्य तालमा निर्माण भएका र भइरहेका घर भवनबारे भने उपमाहानगरपालिकालाई कुनै जानकारी नै छैन। गुनासो आएपछि सडुवा तालको घर रोक्न लगाइएको हो। अन्यत्रको हकमा पनि नगरपालिकाले गुनासो र कानुनको आधारमा निर्णय लिनेछ।”
धनगढी उपमहानगरपालिकाको १ देखि १९ नम्बर वडामा रहेका प्राकृतिक ताल, खोलानाला तथा नदी किनार र पानी बग्ने कुलोहरु अतिक्रमण भएको छ। ती प्राकृतिक ताल तलैया संरक्षणमा सरकारी उदासिनता देखिएको छ।