कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा दैनिक तस्करी, “स्थानीय प्रशासन मुकदर्शक”
धनगढीः कञ्चनपुरकको पुनर्वास बजार बन्द गरिएपनि अन्य सीमा क्षेत्रबाट तस्करी नरोकिएको भन्दै स्थानीय व्यापारी आन्दोलित भएका छन्।
पुनर्वास छेउछाउका अन्य अघोषित भारतीय सीमा नाकाबाट अवैध रुपमा सामान ल्याउन नरोकिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। व्यापारीहरुले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोक्न नगरपालिका र स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्। आफ्नो बजार क्षेत्र बन्द गर्दै उनीहरुले अन्य अवैध भारतीय सीमा हुँदै दैनिक सामान तस्करी भइरहेको बताएका हुन्।
कञ्चनपुरको सीमा क्षेत्रमा १८ स्थानमा बोर्डर आउट पोष्ट स्थापना गरिएका छन्। एक सय २९ किलोमिटर सीमा क्षेत्र रहेको कञ्चनपुरमा सीमाबाट दैनिक अवैध समान आयात भएपनि स्थानीय प्रशासन मुकदर्शक बनेको आरोप उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष कृष्ण तामाङको छ। “भातरबाट दैनिक सामान अवैध रुपमा ल्याइदै छ। सशस्त्र प्रहरी पनि सीमा क्षेत्रमा हुन्छ। तर उहाँहरुले नियन्त्रण गर्न सक्नु भएको छैन,” उनले भने।
नेपाल–भारत सीमा क्षेत्रबाट दैनिक अवैध रुपमा सामान नेपालतर्फ तस्करी हुँदै आएको भन्दै फागुन २१ गते उद्योग वाणिज्य संघ पुनर्वासले नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो। भारतीय बजारबाट दैनिक अवैध सामान सीमा कटाएर नेपाल ल्याइएको भन्दै उनीहरुले त्यसलाई रोक्न माग गर्दै बजार समेत बन्द गरे। मंगलबार नगर प्रमुख जीवन थापाकोे आग्रहमा सर्वपक्षीय बैठक बसेको छ। बैठकले सीमा क्षेत्रमा गस्ती अझै बढाउने सहमति समेत गरेको छ।
तर व्यापारीहरु सशस्त्र प्रहरीको उक्त भनाईमा विश्वस्त छैनन्। उनीहरुले भनेका छन्, “प्रहरी बोलााएको ठाउँँमा मात्र आयो भने, धेरै सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सकिन्छ। तस्करलाई पक्राउ गर्न सकिन्छ।” नेपाल–भारतको अवैध सीमा हुँदै ब्रोइलर कुखुरा, अण्डा, माछा, चिनी, हार्डवेयरका सामान, लत्ताकपडा, तेल, खाद्यान्न, लागुऔषध लगायतका सामान दैनिक तस्करी हुँदै आइरहेको दाबी व्यापारीहरुको छ। तस्करहरुले सस्तोमा भारतीय बजारबाट सामान ल्याउने र नेपाली बजारहरुमा बिक्रि गर्दै आएकोले नेपालले राजस्व गुमाइरहेको र आफूहरू मारमा परेको व्यापारीहरुको भनाइ छ।
उनीहरुले भारतीय बजारबाट तस्करले ल्याउने सामानका कारण व्यापार शून्य भएको गुनासो समेत गरेका छन्। तर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख, प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरको भनाइमा एपीएफले तस्करी हुन दिइरहेको छैन। “सीमा क्षेत्रमा हाम्रो उपस्थिति बलियो छ। हामी बिहान, साँझ, राति गस्ती गर्दै आएका छौँ,” उनले भने, “धेरैलाई पक्राउ पनि गरेका छौँ। दैनिक सीमा क्षेत्रमा अवैध सामान पक्राउ गर्दै आएका छाैँ। उहाँहरुले भने जस्तो केहि नगरेको पनि होइन्। अझै सीमा क्षेत्रमा गस्ती बढाउछौँ।”
कञ्चनपुरको ब्रह्मदेवदेखि डोकेबजारसम्म एक सय २९ दशमलव ५ किलोमिटर र कैलालीको त्रिनगरदेखि सत्तिसम्म एक सय एक किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। दुबै जिल्लाको सीमा क्षेत्रको तस्करी नियन्त्रणको जिम्मा सशस्त्र प्रहरी बलको हो। कञ्चनपुरमा १८ र कैलालीको १४ स्थानमा शसस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ।
तर पनि सीमा क्षेत्रको तस्करी नरोकिएको गुनासो गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर (नब्र) ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले मात्र चालु आर्थिक वर्षमा मात्र ३ करोड २५ लाख राजश्व संकलन गरेको छ। सीमा क्षेत्रबाट दैनिक अवैध सामानसहित तस्करमा संलग्न व्यक्ति पनि पक्राउ पर्दै आएका छन्।
फागुन १९ गते भारतीय तस्कर गोविन्द सिंहलाई कञ्चनपुर प्रहरीले गोली हानेको थियो भने कैलालीको जुगेडामा तस्करी नियन्त्रणमा खटिएका २ प्रहरी अधिकारी नेपाली तस्करको समूहले नै हत्या गरेको थियो।