सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिगः काठमाण्डौँको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

२०७७ फाल्गुन २५, ०६:०४ खबर संवाददाता

धनगढीः धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाण्डौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलबार भएको दोस्रो खेलमा काठमाण्डौँकै नेक्सस स्कूललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। उसका लागि उत्तम थापाले ३२ रन बनाए। बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए।

१ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित ४३ रन बनाए भने, नेक्ससका पप्पु रायले ३ विकेट लिए। 

खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए।

योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टीमको टुङगो लागेको छ। यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन्।

यस्तै मंगलबार भएको दोस्रो खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले पराजित गरेको छ। शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो। स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा जोड्न सकेनन्। स्टेपिङलाई सस्तैमा समेट्न शारदाका विकास सुनार र गणेशबहादुरले समान ४/४ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो। शारदाका लागि सुदिप रोकायाले ३४ रन बनाए। उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए। त्यस्तै सागर चन्दले २६ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २/२ विकेट लिएका थिए। 

कमेन्ट लोड गर्नुस