हेल्प फर हेप्पिनेसले फरक ढङ्गले मनायो नारी दिवस, १ सय ११ श्रमजिवी महिलालाई उपहार
काठमाण्डौँः हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष रूपले मनाएको छ।
हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले धनगढीका विभिन्न स्थानमा श्रम गरेर जीविकोपार्जन गर्दै आएका ठेला सञ्चालक, अटो चालक, सडक पेटिमा कपडाको पसल सञ्चालन गर्दै आएका महिला, किराना पसल सञ्चालक र विकास निर्माणको काममा संलग्न मजदुरी गरि १ सय ११ महिलालाई फ्रुटी जुस र मायाको चिनो स्वरूप बिन्दी उपहार गर्दै फरक ढङ्गले महिला दिवस मनाएको हो।
दिवसका अवसरमा संस्थाले श्रमजिवी महिलाहरूको गुनासोहरू र उनीहरुले भोज्दै आएका समस्याहरू बुझेर उनीहरूलाई हौसला बढाउने गरि सल्लाह सुझावसमेत दिएको छ।
संस्थाका संयोजक घनश्याम भण्डारीले टाँठाबाँठाहरूको सहभागीतामा मात्रै महिला दिवस मनाईनुले लक्षित समुदाय छुट्ने र महिला शसक्तिकरण नारामै सिमित हुने गरेको बताए।
त्यस्तै संस्थाकी सदस्य प्रियङ्का अग्रवालले नेपाली संस्कृति नै विभेदपूर्ण रहेकोले महिला पुरूष बीच समानता कायम हुन नसकेको बताइन्। यसका लागि समाजमा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर यस्ता समस्यालाई केन्द्रसम्म बहसको विषय बनाउन सके केही परिवर्तन हुन सक्ने उनको भनाई थियो।
कार्यक्रममा हेल्पफर हेप्पिनेस सुदूरपश्चिम अन्तर्गत प्रदेश कमिटी र मोटिभेस्नल टिमका सदस्यहरुको सहभागिता रहेको थियो।