सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोसाई नौलो संम्मिधान आयो कि आएइन ?

२०७५ असोज ४, ०७:४९

सामान्यतया  कम पानी भएको ठाउँमा जादैनन् पौडी खेल्नेहरु। पौडीबाजहरुलाई आनन्द आउँछ रे गहिराइमा पौडी खेल्न। नदी ताल र पाेखरीमा पाैडी खेल्नेहरू थुप्रै दखिन्थे पहिले पहिले । हाल आएर समाजमा पौडीबाजहरुले पानी भएको तलाउ खोज्दैनन् । तिनले तलाउ र पोखरीमा जस्तो खेल्दैनन् पौडी पनि । खोज्छन् गरिबका अभावका तलाउ, निर्धोपनको तलाउ, दुःखको तलाउ, सोझा निर्धा र उत्पिडतका बध्यता र विवशताका तलाउ । त्यतै देखाउँछन् आफ्नो बहादुरीपन । यहाँ देखिन्न न्यायको तलाउ, मानवीयताको तलाउ, उपकारको तलाउ । 
यहाँ भन्न खोजेको तलाउ एक बिम्ब हो, उपमा अलङ्कार हो मान्छेको दिनचर्याको। यहाँ कुरौटेहरुको कुरा जम्मा पार्ने तलाउ छ । खुरापातीका लागि जाल फाल्ने तलाउ छ । धनाढ्यहरुसँग दम्भको तलाउ छ । राजनीतिकर्मीहरुसँग शक्तिको तलाउछ । संचारकर्मीसँग हरेक प्रकारका सूचनाको तलाउ छ । बिछोडिएका जोडीसँग विरहको तलाउ छ । 
यो सहरमा एक अनौठो तलाउ छ । जहाँ पानी कम छ गहिराइको वर्णन बढी छ । पिठी मुसारेर पठाउँछन् रणनीतिका पुजारीहरुले तलाउमा हाम फाल्न र भाँच्न लाउछन्र हातखुट्टा । आधी बाटो पुगुन्जेलसम्म गरिरहन्छन् नमस्कार । गाउँघरतिर दोबाटोमा दुम्सी मार्न खाडल खनेझै खन्छन् खुरापातको खाडल र बिछाउँछन् स्याउला । बिहानदेखि साँझसम्म बाँचिरहन्छन् आत्मश्लाघामा । दोस्रोदिन बिहान सूर्य नउदाउँदै कसैले नदेख्नेझै गरी हिँडिसकेका हुन्छन् चाकडीमा । 
चार दिन अघिको कुरा हो चिया पसलमा बिर्सेछु मोवायल । दश मिनेटमा होस आयो दौडेर गएँ त्यो पसलमा । कुन्नि कसले लग्यो । फेला परेन ।  मित्र नबराज पनेरुले जिप्रकामा फोन गरिदिए – ’सर एक जना सरको मोबाइल हरायो निबेदन दर्ता कति बेलासम्म हुन्छ ? अहिले हुन्छ भने म पठाइ दिन्छु ।’ उत्तर आउछ राती १२ बजे पनि दर्ता गर्छौ । यो वार्ता भएको १५ मिनेटमा म राेशन भाइको बाइकमा पुगें जिप्रका । मलाई पुलिसले मेरो हराएको मोबाइल फोन खोजिदेला भन्ने आश थिएन । हराएको मोबायलभित्रका दुबै सीम कसैले अपराधिक गतिबिधिमा प्रयोग गरिदियो भने नराम्रो दुख पाउन सक्छु भन्ने पीर थियो मनमा । त्यसैले समयमै जानकारी गराउनु पर्ने थियो प्रहरी प्रशासनलाइ। उता जिप्रकामा पुगेपछि भेट हुन्छ एक जना पुलिसको जवानसँग । निवेदन दर्ता गर्न मानेनन् उनले। बारम्बार भनिरहे –कम्प्युटर साखाको मान्छे हिँडिसके । ५ बजिसक्यो आज दर्ता हुँदैन् ।

भोलिपल्ट शनिबार छ । पर्सिपल्ट सार्वजनिक बिदा छ । भोलि नै पुरानो सीम ब्लक गरेर नयाँ लिन सक्ने सम्भावना हुने कुरै भएन । मैले निकै सम्झाउने प्रयत्न गरेँ । तिनको घैटोमा घाम लागेन । अन्तमा भनेँ–यहाँको प्रमुख कहाँ हुनुहुन्छ ? भेट्नु पर्ने भो । उनले सहज ढंगले उत्तर फर्काए –‘बाहिर जानु भाछ । उता इन्सपेक्टर साप हुनुहुन्छ ।’ इन्सपेक्टर साप भएतिर पाइला बढाएँ र नजिकमा पुगेर भनेँ –‘दिनेश एफएमबाट फोन आएको मेरै लागि हो निवेदन दर्ता गरिदिनु प¥यो इनिस्पेक्टर साप।’ उनले तुरुन्तै एक जना जवानलाई आदेश दिए– ‘यो निबेदन दर्ता गरिदेऊ।’ निवेदन लगेर जवान हिँडे म कुरिरहें दर्ता नम्बर पाउने आशमा । निकै बेर पछि पुनः अनुराेध गरेँ –इन्सपेक्टर साप दर्ता नम्बर लगेर जान पाए हुन्थ्यो । उनले हाँस्दै भने –‘बिश्वास गरौ सर।’ अहिले दर्ता गर्ने मान्छे गैसक्यो भोलि हुन्छ । म चकित परेर हेरिरहे उनको मुहार । उनले फेरि थपे –‘मेरो नि हराएको थियो मोबायल मैले त दोस्रो किने।’ 
त्यसपछि भनें –इन्सपेक्टर साप मलाई तपाइहरुले मेरो मोबायल खोजिदिनु होला भन्ने आश पनि छैन । खोजिदिनोस् पनि भन्दिनँ । तर कसैले त्यो सीमकाे  गलत प्रयोग ग¥यो भने के हुन्छ ? अनि तपाई कहाँ छोडेको निवेदन कतै हरायो भने के हुन्छ ? तपाइले नै भोलि मलाई याद भएन भन्नु भो भने के गर्ने ? मैले तपाईहरुलाई जानकारी गराएको आधिकारिक प्रमाण के? यस्तो केशमा त जतिबेला पनि दर्ता गर्ने प्रावधान हुनु पर्ने हैन र ?’ ती इन्सपेक्टर सापसँग त्यही एउटा वाक्य थियो –‘विश्वास गर्नोस्। भोलि दिन्छु दर्ता नम्बर।’ थप कुरा केही नबोली म फर्किएँ । जे जे त होला सहुँला भन्ने भयो । भोलिपल्ट गइनँ त्यो दर्ता नम्बर लिन पनि । सोमबार मात्रै एउटा सीम लिएँ । अर्को अझै लिन सकेको छैन ।  
असोज ३ गते धनगढी बजारमा ठूलो ¥याली निस्कियो बिहानबिहानै हातमा क्यामेरा बोकेर ¥यालीको पछिपछि म पनि पाइला चालिरहे । कर्मचारी, नेता, पुलिस, आर्मी र कतिपय बिद्यालयका बिद्यार्थीहरुको भीड थियो । निकै कम मात्रामा सहभागी थिए आम नागरिक । नेताहरुको गर्जन थियो एकातिर अर्कोतिर प्रदेश प्रमुख मोहनराज मल्लको सालिन,भद्र लोभ लाग्दो छवि अनि स्वाभिमानी पनले स्वभायमान थियो मञ्चमा । मोहनराज मल्लको अनुहार मुस्किलले दुई पटक देखेको हुँ । आज फेरि हेरिरहेँ टाढैबाट । संविधान दिवसका दिन हरेक प्रदेशमा भए कार्यक्रम । प्रधानमन्त्री लगायत कैयौ मन्त्रीहरुको स्वरको आयतन सुनिँदै थियो रेडियो र टेलिभिजनबाट । संविधानको ब्याख्या भैरहेकै थियो । गुणगान गाइरहेकै थिए । कागजका पानामा लेखिएका अक्षरहरु न हुन । कार्यान्वयनमा ल्याउन सके पो संविधानको अर्थ होला हैन भने त एउटा कागजमा छापेका ती सुन्दर अक्षरहरु, सुन्दर पंक्तिहरु मात्र न हुन, जो एउटा पुस्तकको आकार लिएर देखिए जनताका सामु । 
बाटोमा क्यामेरा सोझ्याउँदै गर्दा छेउमै देखा परिन् देउसरा । गाउँमा पुस्तौनी हली बनेर बसेका देउसराका बुढाबुढी अचेल ऐलानी जग्गामा सानो झुप्रो बनाएर बसिरहेका रहेछन् । मसँग भेटहुँदा निकै नै खुसी भएर सोधिन् हालखवर । सम्झिन घरका सदस्य सबैलाई । वर्षौ पछि उनीसँगको भेट । एकछिन रोकिएर भलाकुसारी गरेँ। बिहानै बजार आएकी रहिछन् । सडकमा ¥याली देखेपछि सडक किनारामा उभिएर हेरिरहिन् रमिता । कुराकानीकै सिलसिलामा उनले आफुभित्रको जिज्ञाशा प्रकट गरिन् – गोसाइँ चुनावका बखत सबै  संम्मिधान आउने हो भण्याथे ऐलानी जग्गा नम्मरी हुने हो भण्याथे । त्यो संम्मिधान आयो कि आएइन ? 
हजारौले बलिदानी दिए । वर्षौसम्म द्वन्द्वको मारमा पिल्सिरहे । तर पनि आशाका किरणहरु अस्ताएनन् । नयाँ संविधान आउनेछ । दरो कानुन आउनेछ । अपराधीलाई कडाभन्दा कडा कारवाही गरिनेछ । आर्थिक उन्नति हुने छ बिकास निर्माणका कार्यहरु हुनेछन् । स्वतन्त्रताको आभाश हुनेछ । कनुनी राज्य हुनेछ । कति फलाके नेताहरुले भाषण । कति देखे जनताले सपना । कतिपल्ट बुने कल्पनाका सुन्दर जालहरु । तर बिडम्बना हरेक सेक्टरमा भागबण्डाको खेल भयो । प्राज्ञिक क्षेत्रहरुमा समेत उच्च ओहदाका पदहरु गाउँमा खसीको मासु भाग लगाएझै भाग लगाउँदै रहे पार्टीगत हिसाबमा । 
दिन प्रतिदिन समाचार आउन थाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका गाडीको अपत्यारिलो इन्धन खर्च । गाडी सफा गर्न लागेको पानीको खर्च । हिजोको दिनमा नयाँ संविधानको आश गरेका मान्छेहरुमा निराशाको बादलले डेरा जमाउन थालिसक्यो । गरिबले न्याय पाउन नसक्ने भैसके । हरेक क्षेत्रका मान्छेहरु बिक्न थाले । यहाँ को बिकेन र ? पैसाको लागि के गरेनन् ? अब त मान्छे यति वाक्क भैसके कि नेताले गरेको भ्रष्टाचार कर्मचारीले गरेको भ्रष्टाचार, भ्रष्टाचार नियन्त्रण गर्ने निकायले गरेको भ्रष्टाचारको कथा सुन्न पनि चाहन्नन्। त्यो यति सामान्य भैसक्यो कि भ्रष्टाचारमा नमुछिएको कोही छ र? भन्नु पर्ने बेला भैसकेको छ । 
समय समयमा हरेक पार्टीका नेताको मुठ्ठीमा हुन्छ देश । देश चल्न सकेन पध्दतिले । औपचारिकतामै सिमित रहे हरेक दिवसहरु । मुलुकमा आएको परिवर्तनसँगै उमङ्गका साथ कैयौंले राखे पसलको नाम समेत नयाँ नेपाल । देश संघीयतामा जानु, स्थानीय निकायमा अधिकार जानु उपलब्धीकै कुरा हो । तर केही मनोमानी देखिएको छ स्थानीय तहमा । मुलुक प्रादेशिक संरचनामा गयो भनेर खुसी भएका मनहरु निर्मला पन्तका आमा बुवा लगायत कैयौले न्याय माग्न अझ उही नैपाल (काठमाडौं) धाउनु पर्दाको दृश्य देखेर खिन्न भएका छन् ।  सुनुवाइ भएको छैन बेरोजगारीको, महिलाप्रतिको बिभेदको। अझै तदारुकता देखाउन सकेको छैन संविधानतः गठन गर्नुपर्ने संवैधानिक आयोगको । संविधानमा राखिए कैयौं हक अधिकारहरु। तर लागु हुन सकेका छैनन् ब्यवहारमा ।
देशका शासकहरु खेलिरहेछन् पौडी आम नागरिकले तिरेको करको पोखरीमा । म आफै पौडी खेलिरहेछु भ्रमको पोखरीमा । दौडिरहेछु पोखरीको किनारै किनार । हातमा क्यामेरा बोकेर । पिठ्युमा झोला भिरेर । मसँग सपनाको तलाउ छ । कल्पनाको तलाउछ । भ्रमको तलाउछ । सबैभन्दा ठूलो तलाउ त नोष्टाल्जियाको छ । र त बेलाबखत सम्झिरहन्छु ०४६ सालको आन्दोलन । ०६३ सालको आन्दोलन । आन्दोलनमा बीरगति पाएका शहीदहरुलाई । जनआन्दोलनका घाइतेका ती निर्दोष मुहारलाई । सैकडौ निर्मला पन्तलाई । सूयोदयदेखि सूर्यास्तसम्म ओभाना हुन नसकेका तिनका आमा बुवाका आँखालाई । बलात्कृत भएर वर्षौदेखि न्यायको भीक माग्दै हिँडिरहेकी चेलीलाई । बुवा बितेको दस महिनामै आमा पोइल गएपछि ४ जना भाइबहिनीलाई कसरी पाल्ने भनेर बेलाबखत आँसु झारिरहेकी बाजुराकी  १३ वर्षिया प्रविता साउँदलाई ।   
अनि सम्झिरहन्छु देउसराको प्रश्नलाई – ‘गोसाई चुनाबका बखत सबैले नौलो संम्मिधान आउने हो भण्याथे आयो कि आएइन ?’ 

कमेन्ट लोड गर्नुस