सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिग :वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शन

२०७७ फाल्गुन २१, ०६:२९ खबर संवाददाता

धनगढी: विद्या भूषणले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । 

विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २/२ विकेट लिए । 

९२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको त्रिनगर ६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २७ रनमा समेटियो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । त्रिनगरलाई सस्तैमा समेट्ने क्रममा विद्या भूषणका कप्तान विरेन्द्र नाथले ६ र शेर मल्लले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच विद्या भूषणका कप्तान वीरेन्द्र नाथ भए । 

यसअघि भएको अर्को खेलमा नव बाल बाटिकाले रोजी बड्सलाई ८ विकेटले पराजित गर्यो । खेलको प्लेयर अफ दि म्याच बाल बाटिकाका विशाल बिक्रम केसी चुनिए । प्रतियोगितामा बाल बाटिकाको दोस्रो जित हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । भोलि होलिल्याण्ड र धनगढी नमुना तथा बाल बाटिका र गुरुकुलबीच खेल हुनेछ ।

प्रतियोगिताका विजेताले १ लाख २० हजार पाउने छन् । उपविजेताले ६० हजार पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।

कमेन्ट लोड गर्नुस