सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिग : धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी

फोटो : महेन्द्र बम
फोटो : महेन्द्र बम
२०७७ फाल्गुन १८, ०६:५५ खबर संवाददाता

धनगढी: धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग(एलपिएल) अन्तरगत मंगलबार भएका खेलमा धनगढीको शारदा मावि र  कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन्।

 आज भएको पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो। धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो। उसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने अविशेक पालले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए। 

त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए। जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो। उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए। शारदाका अविशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए। खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए। 

आजै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो। उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए। शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए। ९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। 

उसका लागि हेमन्त धामीले २५ र गणेशबहादुर विटालुले २३ रन बनाए। धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २/२ विकेट लिए। खेलका म्यान अफ द म्याच कैलाश सिंह साउँद् भए। लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन्।

प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ।
 

कमेन्ट लोड गर्नुस