धनगढीमा आयोजित मैत्रिपूर्ण क्रिकेट खेलमा पत्रकार–११ विजयी
धनगढी: धनगढीमा शनिबारदेखि सञ्चालन हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को पूर्वसन्ध्यामा आयोजना भएको मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार ११ विजयी भएको छ। पत्रकार ११ ले फाप्ला भेट्रानलाई ६ विकेटले पराजित गरेको हो।
टस हारेर व्याटिङको निम्तो पाएको भेट्रानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा एक सय तीन रन बनायो।
उसका लागि धर्म खड्काले ४४ रन बनाए। बलिङमा पत्रकार ११ का ज्ञानेन्द्र क्षेत्रीले ३, बाबुराजा श्रेष्ठले दुई र देवेन्द्र पाण्डेयले १ विकेट लिए। एक सय चार रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको पत्रकार ११ ले १६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो।
सुरुवाती ब्याट्सम्यानलाई पहिलो ओभरमै गुमाएको पत्रकार ११ का लागि मुकेश खड्काले उत्कृष्ट ब्याटिङ गरे। उनले अविजित रहँदै ७१ रन बनाए। भेट्रानका लागि सुवाश शाहीले २ विकेट लिए। खेलको म्यान अफ द म्याच मुकेश खड्का भए।