सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षौँदेखि गौचरणमा परिणत भएको कञ्चनपुरको मझगाउँ विमानस्थल कालोपत्रे हुने

मझगाउँ विमानस्थल
मझगाउँ विमानस्थल
२०७७ फाल्गुन ३, ०५:५४ नारायण अवस्थी

धनगढी: ४ दशकअघि निर्माण भएर पनि चरन वा खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थल अब सुदूर तराईमा धनगढीपछिको दोस्रो चालु विमानस्थल बन्ने भएको छ।

३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले हातेमालो गरेका छन्। 

सम्झौता अनुसार विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ जसबाट साना आकारका विमान उडान वा अवतरण गर्न सकिने छ।

मझगाउँ विमानस्थलको स्तरोन्नति र सञ्चालनका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५, भीमदत्त नगरपालिकाले १५ र दोधाराचाँदनी नगरपालिकाले १० प्रतिशत खर्च जुटाउने समझदारी भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए। 

भौतिक पूर्वाधार जीर्ण भइसकेको मझगाउँ विमानस्थलले अब नयाँ जीवन पाउने भएपछि सुदूर तराईमा धनगढी विमानस्थलको विकल्प तयार हुने भएको हो। सुदूर पश्चिमी नेपालको सिमावर्ती शहर महेन्द्रनगर बजारदेखि पश्चिमतर्फ रहेको विमानस्थलबाट शुक्लाफाँटा निकुञ्ज र दोधारा चाँदनी क्षेत्र पनि नजिकै पर्छ। 

विमानस्थलले कञ्चनपुरको आर्थिक सामाजिक विकासमा सघाउ पुर्‍याउँने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग मल्लको अपेक्षा छ।

कञ्चनपुरका स्थानीयबासी मात्रै नभई उद्योगी तथा व्यवसायीले समेत लामो समयदेखि मझगाउँ विमानस्थल सञ्चालन गर्नुपर्ने माग गर्दै आइरहेका थिए। 

विभिन्न राजनीतिक दलहरुले समेत मझगाउँ विमानस्थल निर्माण गरि सञ्चालन गर्ने वाचा गरेपनि सो पूरा हुन नसकेको भनेर जिल्लाबासीले आक्रोश पोख्दै आइरहेकोमा अहिले विमानस्थल निर्माण हुने सम्झौताले केहि उत्साह भने थपेको कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। 

विमानस्थल निर्माण गर्ने काम सम्पन्न हुने बित्तिक्कै हवाई सेवा सञ्चालन भए सुदूरपश्चिम प्रदेशको व्यापार तथा पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। मझगाउँ विमानस्थल कालोपत्रे गर्दै पुन सञ्चालनमा आउने भएपछि स्थानीयबासी निकै हर्षित भएका छन्।

शुक्लाफाँटा नजिकै घाँसे मैदानमा बदलिएको कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण भई सञ्चालनमा आए महेन्द्रनगरबाट सुदूरपश्चिमका पहाडी क्षेत्रका अतिरिक्त संघीय राजधानी काठमाण्डौलगायतका देशका प्रमुख शहर जोड्ने उडान गर्न सकिने छ। 

त्यो विमानस्थलबाट ७० सिट क्षमता भएको एटीआर लगायतका विमान सञ्चालन गर्न सकिने बताइएको छ। अधिकारीहरूले मझगाउँ स्तरोन्नतिको काम आउने एक वर्षभित्र पूरा गर्ने लक्ष्य लिएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस