नेकपाले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको छ : नेता महर
बझाङ: नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन्।
आधिकारिक रुपमा विभाजन भइनसकेका दुवै समुहको दवाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाई भइरहेको नेता महरले आशंका व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ‘लखन’ को हत्याको विरोधमा बझाङको पाथिभरामा आयोजित बिरोधसभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाईका कारण राजनीतिक संकट प्रतिदिन गहिरिदै गएको बताए।
‘सर्वोच्च अदालतलाई राजनीतिक दवावमा राख्ने काम भएको छ’ नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले भने ‘अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा धु्रबिकरणसँगै संकट थपिदै गएको छ।’
नेता महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए। ‘अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ’ उनले भने ‘अदालतको निर्णयमा कुनै पनि खाले दवाव देखिनु हुँदैन।’
सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाएका छन्।
साथै उनले कम्युनिष्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिदैँ आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए।
कांग्रेस कार्यकर्ता हत्याको विरोधमा नेता महरले सरकार आफै अपराधीको नायके जस्तै देखिएको आरोप लगाएका छन्।
‘सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ’ नेता महरले भने ‘कानुनी राज्यमाथिको यो भन्दा ठुलो चुनौती के हुनसक्ला ? निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाई गरिरहेको छ। अब सरकारसँग आश गर्ने ठाउँ बाँकी छैन।’