सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना विरुद्धको खोप अभियान पुनः सुरु, लाभग्राही प्रसन्न

२०७७ फाल्गुन ३, ०८:१७ नारायण अवस्थी

धनगढीः कोरोनाभाइरस विरुद्धको दोस्रो चरणको खोप लगाउने अभियान सुदूरपश्चिमका नौ वटै जिल्लामा सुरु भएको छ। 

दोस्रो चरणमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामति सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमामा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानका कर्मचारी, न्याय सेवाका कर्मचारी र पत्रकारलाई खोप लगाउने सूची तयार पारिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।

‘दोस्रो चरणको खोप अभियान फागुन ६ गतेसम्म जारी रहने बताइएको छ। प्रदेशका नौ वटै जिल्लामा ३० हजारको संख्यामा कोरोना विरुद्धको खोप लगाउने तयारी छ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने।

आइतबारदेखि धनगढीको स्वास्थ्य कार्यालयमा कोभिशिल्ड खोप लगाएपछि लाभग्राहीहरू प्रसन्न भएका छन्। दोस्रो चरणको लक्षित समुहमा पत्रकारहरुलाई पनि राखेकोमा सुदूरपश्चिम प्रदेशका पत्रकारहरुले खुशी व्यक्त गरेका छन्। 

‘कोरोना विरुद्धको खोप लगाएपछि समाचार संकलनमा निर्धक्क भएर जान सकिने बताउँछन् धनगढीका पत्रकार दिपक नेपाल।

कोरोना संक्रमणका बेला समाचार लेख्न त छोडिएन तर मनमा भने कुनै पनि कार्यक्रममा जाँदा डर लाग्ने गरेको अर्का पत्रकार दिपक ओल्ी बताउँछन्। तर कोरोना विरुद्धको खोप लगाएपछि भने काममा जान सहज हुने उनको भनाइ छ।

कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुदूरपश्चिमका ९ वटै जिल्लामा आइतबार बिहानबाट सुरु भएको छ। पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाउनु पर्ने बताइएको छ। कैलाली जिल्लाको ७ खोप केन्द्रबाट आइतबार ८ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।

फागुन २ गतेदेखि ६ गतेसम्म प्रदेशभरका मेडिकल अफिसर उपलब्ध भएका स्वास्थ्य संस्थाबाट कोरोनाभाइरस विरुद्धको खोप लगाउने योजना रहेको अधिकारीहरुले बताएका छन्। 

सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा ३० हजार जनालाई कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप दिने लक्ष्य रहेको बताइएको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस