सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सिमखेत बसपार्कमा यातायात व्यवसायीबीच चर्काचर्की

२०७७ माघ २६, ०५:५५ खबर संवाददाता

प्रताल ओली, बझाङः बझाङको एक मात्र बसपार्क सिमखेतमा यातायात व्यवसायीबीच चर्काचर्की हुन थालेको छ। 

कहिले कुनै यातायात व्यवसायीलाई बसपार्कभित्र छिर्न नदिएको निहुँमा भने कहिले समय अगावै विभिन्न यातायात प्रालिहरुले बस छुटाएको निहुँमा चर्काचर्की हुने गरेको छ। साँघुरो बसपार्कभित्र हाल सुन्दर सुदूरपश्चिम यातायात प्रालि, कर्णाली रिभर यातायात प्रालि, महाकाली यातायात प्रालि, पवनदुत यातायात प्रालि, खप्तड मालिका यातायात प्रालि, उग्रतारा लगायतका विभिन्न प्रालिका बस भित्रने गरेका छन्।

आइतबार मात्रै कर्णाली रिभर यातायातले ३ बजेको बस समय अगाडी बसपार्कबाट छुटाएको भन्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले करिब डेढ घण्टा सिमखेत बसपार्क अगाडी जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको छ। सडक अवरुद्ध हुँदा यात्रु र अन्य सवारीलाई असहज भएको भन्दै प्रहरीले सडक अवरुद्ध गर्ने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका एक जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काले बताए। 

यसअघि खप्तड मालिका यातायात प्रालिको एक समूह बसपार्कभित्र छिर्न नदिएको भन्दै बाहुली खोला किनारमा बन्दै गरेको बसपार्कमा आएको थियो। खप्तड मालिका यातायातभित्रै पनि दुई समूह रहकाले एक समूहले सिमखेत बसपार्कबाटै र एक समूह नयाँ बसपार्कबाट सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएका छन्। यातायात व्यवसायीहरुको आन्तरिक किचलोको कारणले यात्रुहरु मारमा पर्दै आएका छन्। 

यस्तै सुरुमा राम्रो इन्जिनसहितको बस लिएर यात्रु आकर्षण गर्ने र केही महिनापछि यातायात व्यवसायीले पुरानो थात्रो बस ल्याएर यात्रु ठग्ने गरेको पनि गुनासो गरिएका छन्। सुरुमा बझाङ भित्रिने यातायात व्यवसायीले नयाँ बस देखाउने र पछि बाटोमै बिग्रने बस ल्याएर यात्रुलाई धोका दिने गरेको छबिसपाथिभेरा ७ का सुरेश धामीले बताए। 
 

कमेन्ट लोड गर्नुस