बझाङ्गमा खानेपानी, बाटोघाटो र विद्युत्को माग राख्दै प्रदर्शन
बझाङ्गः बझाङ्गमा खानेपानी, बाटोघाटो र विद्युत्को मागसहित प्रदर्शन गरिएको छ।
जयपृथ्वी नगरपालिका–८ बारिलका स्थानीयवासीले खानेपानी, बाटोघाटो, विद्युत्को मागसहित प्रदर्शन गरेका हुन्।
नगरपालिकाको सबै वडामा सडक विस्तार भए पनि बारिलमा नहुँदा सडक विस्तारका लागि नगरपालिकाले बजेट नछुट्याएको र बर्खायाममा पहिरो गई बस्तीहरु जोखिममा रहेकाले त्यसको रोकथामका लागि पनि बजेट विनियोजन गर्नुपर्ने भन्दै स्थानीयवासी आन्दोलित भएका छन्।
बारिलमा सडकका लागि पाँच लाख बजेट छुट्याइसकेको र केही महिनामै काम हुने नगरपालिकाका उपप्रमुख जुना जाग्रीले बताइन्। उनले विद्युत्का लागि पोल लगाउन बोलपत्र आह्वान भइसकेको केही दिनमै पोल गाड्ने काम पनि सुरू हुने जानकारी दिइन्।