धनगढीका सञ्जय राना अबको १ महिनापछि जेलबाट छुट्ने
धनगढीः ठगी धन्दा चलाएको आरोपमा झण्डै डेढ वर्षअघि पक्राउ परेका धनगढीका सञ्जय राना १ महिनापछि छुट्ने भएका छन्। रानामाथि प्रहरीले ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराध गरि ४ मुद्दा चलाएको थियो।
तर जिल्ला अदालत कैलालीका न्यायाधिश खेमराज भट्टको एकल ईजलासले रानालाई अन्य ३ मुद्दामा सफाइ दिदै हातहतियार खरखजनामा दोषी ठहर गरेको छ। रानालाई १ वर्ष ६ महिना कैद सजाय र १५ हजार रुपैँया जरिवाना सुनाइएको छ।
उक्त फैसलाअनुसार राना अबको १ महिनापछि कैद सजाय भुक्तान गरेर रिहा हुने कैलाली कारगारले जनाएको छ।
कारागार कार्यालयका अनुसार गत वर्षको भदौँमा पक्राउ परेका रानाले प्रहरी हिरासत र पुर्पक्षमा गरि १ वर्ष ७ महिना कैद सजाय भुक्तान गरिसकेका छन्।
अब फैसलाअनुसार रानाले एक महिना मात्र कैद सजाय भुक्तान गर्नुपर्ने छ।
सञ्जय रानासहितका ३ जनालाई हातहतियार सहित गत वर्षको भदौँमा कैलाली प्रहरीले पक्राउ गरेको थियो भने त्यसको केही दिनपछि रानाकी साली दिवाकोटी पक्राउ परेकी थिइन्।
प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो।
उनीहरुमाथि अनुसन्धान गरेर प्रहरीले ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराधमा मुद्दा चलाएको थियो।
रानासँगै पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई समेत अदालतले दोषी ठहर गरेको छ।
सोही मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का कमलबहादुर बिकलाई भने अदालतले सफाइ दिएको छ।
बिकको कुनै पनि मुद्दामा संलग्नता पुष्टि हुने आधार प्रमाण नभेटिएको भन्दै न्यायाधिश भट्टकै इजलासले सफाई दिएको अदालतले जनाएको छ।
सञ्जय रानाकी साली कल्पना दिवाकोटीले भने यसअघि नै अदालतबाट सफाइ पाइसकेकी छन्। दिवाकोटीको मुद्दामा हालै सुनवाइ गर्दै सफाई दिइएको हो।