भाइरल बनेका कैलालीका अर्जुन बिकमाथि किशोरीलाई अपहरण गरेर बलात्कार गरेको आरोप
धनगढी: केही समयअघि सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बन्यो। जुन तस्बिरमा एउटा बुवाले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए।
काठमाडौंमा खिचिएको त्यो तस्बिरले धेरैको मन तानेको थियो। ती युवक थिए कैलालीका २४ वर्षीय अर्जुन बिक।
घोडाघोडी नगरपालिका–२ साँडेपानीका उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए।
त्यसपछि धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र सम्मान गरेका थिए।
भाइरल भएपछि उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको थियो।
तिनै अर्जुन बिक बलात्कार आरोपमा माघ ८ गते पक्राउ परेका छन्। एक किशोरीलाई अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप उनीमाथि लागेको छ।
कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरणगरि ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
४ वर्षअघि किशोरीलाई काठमाडौं महानगरपालीका–१० देविनगरस्थित डेरामा लगेर जबरजस्ती करणी गरिरहेको भन्दै जाहेरी आएपश्चात विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
उनलाई काठमाण्डौस्थित तिनकुनेबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।
पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।