सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो अस्पतालको साथ
धनगढी: धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो अस्पतालले प्रायोजन गरेको हो।
स्पोर्टस अवार्डमा दिइने ९ वटा विधा मध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुने भएको छ। विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा अस्पतालका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरेका छन्।
सम्झौता तथा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल र किर्तिमानी खेलाडी ओलम्पियन दिपक बिष्टको पनि सहभागीता रहेको थियो।
यो अवार्डको थप गरिएको विधा हो। यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल महिला खेलाडीलाई अवार्ड प्रदान गरिनेछ। तीन जना खेलाडीको मनोनयन सार्वजनिक गर्दै चैत ६ गते एक जनालाई नगद २० हजार सहित ट्रफि र मेडल प्रदान गरिनेछ।
खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए। उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य हुन उनी लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहदै आएका छन्।
‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिँदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्नका लागि मद्दत मिल्ने मञ्चका अध्यक्ष ओझाले बताए।
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ। चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइनेछ।
गत वर्ष ६ विधामा अवार्ड दिइएको थियो। पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन। अघिल्लो वर्ष जस्तै यस वर्षपनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन्।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।
अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।