सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा यस्तो छ मध्यावधिक निर्वाचनको कार्य तालिका

२०७७ माघ ११, ०८:१६ खबर संवाददाता

धनगढीः सरकारले प्रतिनिधि सभा विघटन सँगै मध्यावधिक निर्वाचन घोषणा गरेपछि तयारी थालिएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक सँगै तयारीलाई जिल्लागत रुपमा पनि तीव्र पारिएको हो।

सुदूरपश्चिम प्रदेशमा पनि तयारी अगाडि बढाइएको छ। प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीमा जिल्ला निर्वाचन कार्यालयले तालिका तयार गरि तयारी थालिएको प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए।

तालिका अनुसार माघ १५ गते सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, १६ र १७ गते प्रकाशित मतदाता नामावलीको त्रुटी सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने कार्यक्रम रहेको बताइएको छ। 

माघ १६, १७ र १८ गते एक भन्दा बढी स्थानमा मतदाता नामवली भएकाहरुले एउटै स्थानमा कायम गर्न निवेदन दिन सक्ने, मतदाता नामावलीबाट मृत्यु भएका वा नागरिकता त्यागेकाहरुको नाम हटाउन सूचना दिने, १८ र १९ गते उजुरी परेका मतदातालाई सफाइको मौका दिने कार्यतालिका तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो।

निर्वाचन कार्यालयका अनुसार माघ १६ देखि २६ गतेसम्म त्रुटी सच्याउने, मृत्यु भएका मतदाताको नाम हटाउने र दाबी विरोधका कार्यक्रम सम्पन्न गरि माघ २६ गते दिउँसो १ बजेभित्र सच्याइएको मतदाता नामवली प्रकाशन गरिनेछ। 

फागुन २ गतेभित्र मतदाता अद्यवधिक सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरेर निर्वाचन आयागलाई अन्तिम नामावली प्रकाशनको लागि पठाइने बताइएको छ।

जिल्लामा हाल २ सय ३१ मतदान स्थल र ५ सय ३८ मतदान केन्द्र रहेकोमा थप ४ वटा मतदान स्थल थप्ने गृहकार्य समेत गरिएको प्रमुख निर्वाचन अधिकारी भट्टले जानकारी दिए। 

सो कार्यालयको तथ्यांकअनुसार कैलालीमा  ५ लाख ४६ जना मतदाता रहेका छन। जसमा २ लाख ५६ हजार २ सय ४ महिला, २ लाख ४३ हजार ८ सय ३२ पुरुष र १० जना तेस्रो लिंगी मतदाता रहेका छन्।

बैशाख १७ र २७ गते हुने निर्वाचनको लागि कुन जिल्लामा कुन मितिमा निर्वाचन हुनेबारे यकिन हुन भने बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस