इन्धनको मूल्य २ रूपैयाँ प्रतिलिटरले बढ्यो
धनगढीः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँ बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो। मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।
हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ।
त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ। अर्धमासिक रूपमा करिब ४९ करोड घाटा हुने निगमको अनुमान छ।