सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, बिरामी मारमा

२०७७ माघ ३, ०२:३२ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुराको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा विरामीहरूलाई समस्या हुने गरेको छ। जिल्लाको अमरगढी नगरपालिका–९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएको हो।

स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ। स्वास्थ्य चौकीमा खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहीन बनेको भूमिराज स्वास्थ्य चौकीले जनाएको छ।

स्वास्थ्य चौकी बनेको लामो समय भइसकेपनि खानेपानीको समस्या समाधान गर्न नसकेको सेवाग्राही लक्ष्मी सार्कीले बताइन्। उनले घाममा हिँडेर उपचार गर्न आएपनि खानेपानी पिउन नपाएको दुखेसो पोखिन्।

‘बच्चासहित यहाँ आएकी छु। तिर्खा लागेको छ तर, खानेपानी छैन्। स्वास्थ्य चौकीमा काम गर्ने कर्मचारीले पनि पानी पिउँन पाउँदैनन्,’ उनले भनिन्, ‘वडा र नगरपालिकासँग जसरी पनि खानेपानीको व्यवस्था मिलाइदिन माग गरेका छौँ।’

स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरीको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न अन्य गाउँ तथा खोला धाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज श्याम बोहराले बताए।

‘हामीहरू पानी बोकेर भएपनि स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई पानी दिने गरेका छौँ। तर, त्यो प्रयाप्त छैन। पानी परेपछि बल्दारीको पानी जम्मा गछौँ,’ उनले भने, ‘पानी नपरेपछि छिमेकी गाउँ तथा खोलाबाट बोकेर ल्याउँछौँ।’

स्वास्थ्य चौकीमा खानेपानीको समस्यालाई मध्यनजर गर्दै खानेपानी पुर्याउने प्रयास गरेपनि सम्भव नभएको वडाअध्यक्ष भीम रोकायाले जानकारी दिए। उनले वडाबाट स्वास्थ्य चौकीमा खानेपानीको लागि ५ लाख बजेट बिनीयोजन गरेको समेत बताए।

‘खानेपानीको मूल खोजिरहेका छौँ। मूल नजिकका गाउँले पानी दिन मानिरहेका छैनन्,’ उनले भने, ‘साना सहरी आयोजना डडेल्धुरालाई पनि निवेदन दिएका छौँ। उहाँबाट पनि पानी पाउने आश्वासन पाएका छौँ। प्रयास जारी छ।’ 

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि भवन समेत निर्माण भइरहेको छ। खानेपानीको आपूर्ति नहुँदा सम्म बर्थिङ सेन्टर सञ्चालनमा आउन समस्या हुने स्वास्थ्य चौकीमा कार्यरत अनमी शान्ती भट्टले बताइन्।


 

कमेन्ट लोड गर्नुस