६ सय ८० मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाको डिपिआर बन्दै
८० अर्बमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
प्रदेश नम्वर सात र कर्णाली प्रदेशको सीमानामा कर्मचारी सञ्चय कोषले ६ सय ८० मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना वनाउने प्रक्रिया अगाडी वढाएको छ । ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ ले विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र पाएपछि अहिले विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम भईरहेको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लाको साविकका गाविसहरु विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा तथा अछाम जिल्लाका गाविसहरु ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहने गरी कर्णाली नदीमा अर्धजलाशय प्रकृतिको आयोजनाको काम अगाडि बढिरहेको हो । ८० अर्ब लागतको आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वेतन कर्णाली संन्चयकर्ता हाईड्रो पावरका प्रमुख श्रीराम शेखर अधिकारीले बताए ।
सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको ४० प्रतिशत लगानीमा ६ सय ८० मेगावाट क्षमताको कर्णाली जलविद्युत आयोजना निर्माणका लागि काम गरिरहेको हो । सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैँले १५ प्रतिशत सेयर राख्नेछ । नेपाल विद्युत प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएको संन्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताए । पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने गरी अहिले डिपिआर वनाउने कामले गति लिएको छ । दुई वर्षको समय कामको लागि डिपिआर वनाउने काम थालेको सात महिना भईसकेको छ । वातावरणीय प्रभाव मूल्याकंनको कामले पनि अहिले गति लिईरहेको छ । आयोजनाको औसत लागत ८० अर्ब हुनेछ । पहिलो चरणमा २० अर्ब अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडि बढाउनेछ ।
कुल १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्नेगरी आयोजना अगाडी बढाउने बताईएको छ । आवश्यक लगानीको अभाव नभएकोले डिपिआरको काम सकिएपछि निर्माण थालेको पाँच बर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । माथिल्लो तामाकोसीपछि नेपाली स्रोत र साधनमा अगाडि बढाउन लागिएको आयोजना नै यो पहिलो आयोजना हो । पश्चिमसेतीमा लगानीकर्ताको खोजी गर्दै ३६ वर्षदेखि अल्झाउने काम भईरहँदा वेतन कर्णाली आयोजनाकै रुपमा अगाडी वढाउन सकेमा निर्माण असम्भव छैन् ।