चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ ।
निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।
मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको उहाँले जानकारी दिनुभयो । उक्त गैँडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ ।
यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गैँडा मरेका छन् ।