सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट नपाउँदा सुदूरपश्चिमका झण्डै २ अर्बका योजनाको काम प्रभावित

२०७७ पुष १५, १२:१३ जनक विष्ट

धनगढीः जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कञ्चनपुरले रौटेला कनकट्टी खोला नदी नियन्त्रणको योजनामा काम सम्पन्न भएपनि बजेट अभावमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्न सकेको छैन्। 

सिँचाई डिभिजन कार्यालयका प्रमुख महादेव बिष्टले काम सम्पन्न भएपनि बजेट अभावका कारण भुक्तानी गर्न नसकेको बताए। 

संघीय सरकारबाट हस्तान्तरण भई आएको धारापानी सिँचाई योजनाको काम पनि अन्तिम चरणमा रहेका बेला बजेट नआएका कारण भुक्तानी गर्न समस्या हुने बिष्ट बताउँछन्। 

जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कञ्चनपुरले कार्यान्वयन गरेका यी योजनामा जस्तै सुदूरपश्चिमका झण्डै साढे ३ सय पूर्वाधार निर्माणका योजनाको हालत यस्तै रहेको छ। 

संघीय सरकारबाट हस्तान्तरण भएका सडक, नदी नियन्त्रण, खानेपानी, पुल निर्माण लगायतका गरि ३ सय ३२ योजनाको झण्डै २ अर्ब बजेट प्राप्त नभएपछि काम नै प्रभावित भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 

वहुवर्षीय ठेक्का लगाइएका सडक र पुलतर्फ मात्र  ५० वटा योजनामा ९१ करोड २६ लाख बजेट अपुग भएपछि समस्या भएको मन्त्रालयका सूचना अधिकारी छविराज जैसीले बताए। 

उनका अनुसार कतिपय काम सम्पन्न भएका योजनामा भुक्तानी रोकिएको छ भने अहिले काम चलिरहेकाको हकमा समेत पछि भुक्तानी गर्न समस्या हुने देखिएको छ। 

मन्त्रालयका अनुसार जलस्रोत तथा सिँचाईतर्फ मात्र १० करोड बराबरका २२ वटा योजना बहुवर्षीय ठेक्कामा लगाइएको छ। 

ती सबै योजना प्रदेश सरकारबाट नै हस्तान्तरण भएका हुन्। खानेपानीतर्फका ७५ करोड लागतका २ सय ६० योजनाको काम पनि बजेट प्राप्त नभएपछि प्रभावित भएको छ। 

संघीय सरकारले चालु वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेपछि १ अर्ब ९५ करोड बजेट भएका सबै योजना प्रभावित भएका हुन्। तर संघीय सरकारसँग बजेट माग गरिएको सूचना अधिकारी जैसीले बताए। 

संघीय सरकारबाट हस्तान्तरण भएका योजनामा सर्शत अनुदान नै नआएपछि प्रदेशकै पूर्वाधार विकासमा धक्का लागेको छ। मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई थप प्रभावित पार्नसक्ने देखिएको छ। 

संघीय सरकारबाट सर्शत अनुदानको बजेट नपाउँदा योजनाको काम प्रभावित भएका बेला भौतिक पूर्वाधार विकास मन्त्रीलाई समेत हटाइएपछि थप समस्या सिर्जना भएको दाबी गरिएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस