रक्सी खाएर डाक्टरले गरे छात्रावासमा तोडफोड
धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
आइतबार राति इन्टर्न रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत ल्याई तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ। घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशवलाई लिएर होस्टल पुगेका थिए। सुरक्षाका लागि होस्टलमा राखिएका सुरक्षा गार्डलाई समेत धम्काएर उनीहरु प्रवेश गरेको बताइएको छ।
तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानूनी कारवाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ। सप्तरी भारदह घर भएका यादव बिपी प्रतिष्ठानबाट एमबिबिएस सकेर एक वर्ष इन्टर्न कोर्ष गर्दै थिए।