सुदूरपश्चिम: स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख नियुक्तिको विवादास्पद निर्णय रद्द
धनगढीः सुदूरपश्चिमको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको प्रमुखबारे गरेको निर्णय सामाजिक विकास मन्त्रालयले रद्द गरेको छ।
स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका तत्कालीन प्रमुख डा.गुणराज अवस्थी (११ औँ तह) लाई जिम्मेवारी मुक्त गरि निमित्त प्रमुखमा डा. निरज अर्याल (१० औँ तह) लाई नियुक्त गरेको मन्त्रालय आफ्नो निर्णयबाट पछि हटेको छ।
उच्च अदालत दिपायलको आदेशपछि मन्त्रीस्तरीय बैठकबाट केन्द्रका निमित्त प्रमुख डा. अर्यालको काज सरुवा फिर्ता लिने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले दिनेशखबरलाई जानकारी दिए।
उनका अनुसार अर्यालको काज सरुवा फिर्ता गर्ने निर्णय गरेपनि स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको प्रमुखको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भइसकेको छैन।
मन्त्रालयले निमित्त प्रमुख अर्यालयको काज सरुवागरेसँगै स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र प्रमुख बिहीन बनेको छ।
गत असोजमा सामाजिक विकास मन्त्रालयले केन्द्रका प्रमुख अवस्थीलाई जिम्मेवारीबाट हटाएको थियो। स्वास्थ्य निर्देशनालयको समेत प्रमुख रहेका अवस्थीलाई दोहोरो जिम्मेवारी भएकाले हटाइएको मन्त्रालयले जनाएको थियो। तर अवस्थी मन्त्रालयको निर्णय विरुद्ध अदालत पुगेका थिए।
उच्च अदालत दिपायलले अवस्थीले हालेको रिटमाथि सुनवाइ गर्दै सो निर्णय खारेज गरी स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा सेवा समूह र तह मिल्ने व्यक्तिलाई जिम्मेवारी दिन आदेश दिएको थियो।
सम्बन्धित समाचार
प्रदेश स्वास्थ्य केन्द्रको पदीय झगडाको असर जीवनरक्षक औषधिमा
सुदूरपश्चिमको स्वास्थ्य आपुर्ति केन्द्रको जिम्मेवारीबाट हटाइए अवस्थी, प्रमुखमा अर्याल नियुक्त