समाचारबारे सांसद चौधरीको प्रष्टिकरण
धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य नेपालु चौधरीले आफ्नो पूर्वाधार विकास कार्यक्रममा आधारित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आइतबार चौधरीले दिनेश सञ्चारगृहलाई खण्डन पत्र लेख्दै मंसिर २४ गते दिनेश एफएम तथा दिनेशखबरमा प्रशारित तथा प्रकाशित ʺकैलालीका सांसद चौधरीको क्षेत्रमा ‘मनपरी’, कागजमा ‘काम’ देखाएर भुक्तानी दिएको आरोप” शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले आफु प्रेस स्वतन्त्रता पक्षधर तथा भ्रष्टाचारको सदैव विरोध गर्दै आएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीको पूर्वाधार विकास कार्यक्रम अन्तरगत गत आव २०७६/२०७७ मा ताल मर्मत सम्भार योजना छनोट गरिएको थियो ।
कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका–१४ सी गाउँको स्वामित्वमा रहेको हरियाली सामुदायिक वन क्षेत्रस्थित कुस्माहिया ताल मर्मत सम्भार कार्यक्रम गरिएको थियो । जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय धनगढीले सी गाउँस्थित प्रगतिशिल महिला कृषक समूहमार्फत ताल मर्मत सम्भार गराएको हो ।
समूहकी अध्यक्ष नाथीदेवी चौधरीका अनुसार सो वन क्षेत्रमा समूहको भोगााधिकारमा कुस्माहिया र राम लक्ष्मण ताल रहेको छ । जुन २ ताल मध्ये कुस्माहिया ताल मर्मत सम्भार गरिएको छ ।
यसैबीच दिनेशखबरले कार्यादेश दिने निकायको कार्यादेश पत्र तथा सम्झौता पत्रको आधारमा रिपोटिंग गरेको थियो । सो कार्यादेश पत्र र सम्झौता पत्रमा निश्चित स्थान तथा तालको नाम नतोकेरै काम गराइएको हुँदा रिपोटिंग तथा समाचार सम्प्रेषणको क्रममा कुस्माहिया तालको रिपोटिंग हुनुपर्नेमा फरक पर्न गएको हो ।