नेकपालाई ‘फुटबाट जोगाउन’ भन्दै धनगढीमा पत्रकार बसे अनसन
धनगढीः सत्तारुढ नेकपालाई फुटबाट जोगाउन भन्दै सुदूरपश्चिममा पत्रकार समेत रहेका एकजना अनसन बसेका छन्।
पार्टीभित्र विवाद चलिरहेका बेला विभाजन हुनबाट रोक्नुपर्ने भन्दै नेकपा डडेल्धुराका सदस्य पदम बोहोरा धनगढीमा अनसनमा बसेका हुन्।
नेपाल पत्रकार महासंघ डडेल्धुराका सह–सचिव र प्रेस संगठन सुदूरपश्चिमका सदस्य पनि रहेका बोहोरा नेकपाको प्रादेशिक कार्यालय धनगढीमा अनसन बसेका हुन्।
‘पार्टी विभाजन कुनै पनि हालतमा रोक्नुपर्छ भनेर नेतृत्व तहलाई दबाब दिन म अनसन बसेको हुँ,’ बोहोराले दिनेशखबरसँग भने, ‘संघियता, गणतन्त्र र आन्दोलनको रक्षाका लागि पार्टी एकजुट हुनुपर्ने माग हो।’
उनले अनिश्चितकालीन अनसनमा मुख्यगरि ५ वटा माग अघि सारिएको जनाएका छन।
पार्टी विभाजन हुनबाट नेताहरुले रोक्नुपर्ने, व्यक्तिगत, पारिवारीक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने, दुवै अध्यक्षले सचिवालय बैठकमा पेश गरेका प्रतिवेदन फिर्ता लिन छलफल चलाउनुपर्ने, एकताका बाँकी काम पूरा गरी अधिवेशन सम्म पार्टीलाई पुगाउनुपर्ने र संघियता, गणतन्त्र र आन्दोलनको रक्षाका लागि पार्टी एकजुट हुनुपर्ने माग राखिएको बोहोराले बताए।