सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी दुर्घटनामा परिवारका ३ सदस्यको एकैसाथ ज्यान गुमेपछि बज्रपात

२०७७ मंसिर २१, ०१:३९ जनक विष्ट

धनगढीः ‘अहिले खाना खाइरहेका छौँ। एकछिनपछि जिपमा बोगटानका लागि हिड्छौँ,’ धनगढीमा रहेका देवर शंकरदत्त अवस्थीलाई उनले टेलिफोनमा भनेकी थिइन्, ‘दिपायलसम्मको यात्रा ठीकै भयो। अब पुगेपछि तपाईलाई फोन गर्छु।’

तर अवस्थीलाई त्यसपछि भाउजु मञ्जु त्रिपाठीको त्यो फोन आएन। न त अब आउनेछ। कारण उनी गन्तव्य पुग्न नपाउँदै अर्को गन्तव्यको यात्रामा हिडिसकेकी छन्।

त्यो गन्तव्यका यात्रामा मञ्जुले न देवर बाबुलाई फोन गर्न पाउनेछिन् न घरमा रहेका श्रीमान मदन अवस्थीलाई नै। 

बैतडीको सुर्नया गाउँपालिकाबाट छोरा, सासुआमासहित विदा मनाएर कार्यथलो डोटी फर्किदै गर्दा बोगटान फुडसिल गाउँपालिका–७ मा भएको जिप दुर्घटनाले मानव जीवनको यात्रा नै रोकिएको छ। 

मञ्जुका ३ वर्षीय छोरा मनिष र सासु आमा डम्मरी पनि अब कहिल्यै फर्किने छैनन्। किनकी दैवले उनीहरु तीनै जनालाई चुडालेर लगेको छ। 

गत फागुनदेखि बोगटान फुड्सिल गाउँपालिका–७ को वडा सचिव जिम्मेवारी पाएकी उनी तिहार विदामा घर गएकी थिइन्। 

त्रिपाठीसँगै नातिको स्याहार सुसारका लागि सासु आमा पनि डोटीमै बस्दै आएकी थिइन्। 

विदा मनाएर फर्किने क्रममा दुर्घटनामा परी ज्यान गुमाएपछि अवस्थी परिवारमा ठूलो बज्रपात परेको छ भने दैवले सबै खुशी चुडेर लगेको छ। 

‘म र भाउजु सरकारी जागिरे थियौँ। दाजुको पनि जागिर छदै थियो,’ डोटी अस्पतालमा आमा, भतिजा र भाउजुको पार्थिव शरीरको प्रतिक्षा गरिरहेका देवर शंकरले भावविहल हुँदै दिनेशखबरसँग भने, ‘आउँदो माघ, फागुनसम्म तराईमा घरेडी किन्ने योजना थियो। दैवले सबै चकनाचुर पार्यो।’

२०६८ सालमा उनका दाजु मदनसँग विवाह गरेकी मञ्जु निकै मिलनसार स्वभावकी थिइन्। २०६३ सालमा बुवा स्वर्गीय भएपछि आमा डम्मरीले परिवारको अभिभावकत्व प्रदान गर्दै आएकी थिइन्।

तर छोराहरुको खुसी हेर्ने बेला अकल्पनीय दुर्घटनाले ५३ वर्षको उमेरमै उनी सदा–सदाका लागि विदा भएकी छन्। 

कैलारी गाउँपालिकामा सब इन्जिनियरका रुपमा कार्यरत शंकर दुर्घटनाको खबरपछि डोटी पुगिसकेका छन्। 

मुटुमाथि ढुङ्गा राखेरै भएपनि परिवारमा परेको बज्रपात सम्हालनुपर्ने बाध्यता अवस्थी दाजुभाईमाथि आइलागेको छ। 

५ सदस्यीय परिवारमा ३ जना दुर्घटनामा परेर स्वर्गीय भएपछि अब दाजुभाई मात्रै छन्। दैवले दिएको पीडाको सामना गर्दै नयाँ जीवनको सुरुवात गर्नैपर्ने बाध्यता उनीहरु सामू उभिएको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस