धनगढीमा बिग्रिएको कालोपत्रे सडकमा अख्तियारको चासो, गुणस्तर परीक्षण गरिँदै
धनगढीः धनगढीमा बिग्रिएको कालोत्रपे सडकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो लिएको छ।
धनगढी उप–महानगरपालिकाकै बजेटमा निर्माण भएको वडा नम्बर १ को चौधरी बुक डिपो क्षेत्रको सडक कालोपत्रे गरेको ५ दिनमै भत्किएपछि कमसल काम भएको आरोप लागेको थियो।
सो सडकमा कमसल काम गरी आर्थिक अनियमिता गरेको आरोप लागेपछि चासो राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले अनुसन्धान अघि बढाएको जनाएको छ।
अख्तियारका सूचना अधिकारी हरिशचन्द्र जोशीले कालोपत्रे उप्किनुको कारण लगायतका विषयमा छानविन थालिएको बताए।
‘हामीले कालोपत्रेको गुणस्तर परीक्षणका लागि नमूना संकलन गरेका छौ,’ सूचना अधिकारी जोशीले दिनेशखबरलाई भने, ‘अन्य पक्षमाथि समेत छानविन सुरु भएको छ।’
६० लाखमा धनगढी उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरिएको चौधरी बुक डिपो क्षेत्रको बैजनाथ कन्सट्रक्सनले कालोपत्रे गरेको थियो।
३ सय मिटर लम्बाइको सो सडक कालोपत्रे गरेको ५ दिनमै भत्किएपछि कमसल काम भएको भन्दै स्थानीयले विरोध गरेका थिए।
उनीहरुले कमसल काम गर्दै निर्माण व्यवसायीले बदमासी गरेको आरोप लगाएका थिए।
अहिले समेत निर्माणाधिन अवस्थामै रहेको सो सडकको भत्किएको क्षेत्रमा मर्मत सम्भार गरिसकेको उप–महानगरपालिकाले जनाएको छ।