धनगढीमा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा, छुटाउन दौडधूप जारी
धनगढीः शनिबार राति धनगढी उप–महानगरपालिकाको राजपुरमा राष्ट्रिय युवा संघ कैलालीका युवाले एउटा ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
उनीहरुले धनगढीबाट अवैध रुपमा कवाडीको सामान संकलन गरी राजश्व छली गर्दै निर्यात गरिरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
तत्कालीन नेकपा एमाले निकट युवा संघका प्रदेश कमिटि सदस्य योगेन्द्र चन्द, राष्ट्रिय युवा संघका कैलाली जिल्ला सदस्य विश्वास शाहलगायतले राजश्व छली गरी पठाएको कवाडीको सामानसहित नियन्त्रणमा लिएको ट्रक प्रहरीलाई बुझाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले कर नतिरेर सामान ओसारपसार गरेको भन्ने गुनासोका आधारमा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
‘कर तिरेको छैन् भन्ने गुनासोको आधारमा ट्रक नियन्त्रणमा लिएका हौँ’, कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर जबराले भने, ‘कर तिरे नतिरेको विषयमा के हो भनेर धनगढी उपमहानगरपालिका पठाएका छौ । यदि तिरेको छैन् भने जरिवाना होला ।’
तर धनगढी उप–महानगरपालिकाले भने ट्रक नियन्त्रणमा लिएको बुझिएपनि औपचारिक रुपमा प्रहरीबाट केही प्राप्त नभएको दाबी गरेको छ ।
‘कर छली गरेको भन्ने उजुरीका आधारमा ट्रक जिल्ला प्रहरी कार्यालयमा लगेको छ रे,’ प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले भने, ‘हामी कहाँ लेखेर पठाइदिए हामी कानून अनुसार जरिवाना गछौँ। तर अहिलेसम्म आधिकारिक रुपमा केही प्राप्त भएको छैन्।’
कर्मचारी र ठेकेदारको दौडधूप !
युवा संघका युवाहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको ना६ख ३५८५ नम्बरको ट्रक चालकले झण्डै २ लाख बराबरका खाली बोतल धनगढीको पूरानो भन्सार जाने बाटोबाट लोड गरेको बताएका छन्।
उनीहरुले नै कैद गरेको भिडियोमा चालकले भनेका छन्, ‘धनगढी पूरानो भन्सार जाने चोर बाटोबाट सामान उठाएको हुँ। ठेकेदारलाई म चिन्दैन् ।’
तर उनीसँग कवाडी निकासी कर बुझाएको उप–महानगरपालिकाको रसिद छैन्। बरु कञ्चनपुरको पुनर्वास नगरपालिकामा कर बुझाएको रसिद बोकेको पाइएको छ।
सो रसिदमा धनगढीको गनीनाथ ट्रेर्डस एण्ड सप्लायर्सले कर वाफत नगरपालिकालाई ८ हजार ४ सय रुपैयाँ तिरेको देखिन्छ।
‘बोतलहरु सबै पुनर्वास नगरपालिकाबाट लोड गरेर ल्याएका हौँ,’ सप्लायर्सका सञ्चालक मनोज जैसवाल भन्छन्, ‘कर्मचारीले केही बोरा धनगढीबाट पनि हालेका रहेछन्। अहिले प्रक्रिया मिलाइरहेका छौँ।’
तर धनगढी उप–महानगरपालिकाका कर्मचारीको मिलेमतोमै कवाडीको सामान कर छली गरी पैठारी भइरहेको आरोप लागेको छ।
अहिले कर्मचारी र ठेकेदारले सो घटना मिलाउन कैलाली प्रहरीकोमा दौडधूप गर्न थालेको उपमहानगरपालिका कार्यालय स्रोत बताउँछ।
तर उप–महानगरपालिकाको राजश्व शाखाका प्रमुख लेखनाथ ओझा भने सो आरोप गलत भएको दाबी गर्छन्।
‘अदालतमा मुद्दा परेपछि कवाडी कर संकलनको ठेक्का लगाउन सकिएको छैन्, अहिले कर्मचारीबाटै संकलन भइरहेको छ । तर जति कडाइ गरेपनि चोरी गर्नेहरुसँग नसकिदो रहेछ,’ उनी भन्छन्, ‘मिलेमतो छ भन्ने आरोप गलत हो। कसैले प्रमाणसहित ल्याओस हामी कारवाही गर्न तयार छौँ।’
कर्मचारी र जनप्रतिनिधिकै स्वार्थमा कवाडी करको टेण्डर रद्द !
धनगढी उप–महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधकै स्वार्थका कारण अघिल्लो वर्ष नै ठेक्का गरिसक्नुपर्ने अहिलेसम्म नलागेको आरोप लागेको छ।
ठेक्काका लागि बोलपत्र आह्वान गर्ने तर निर्माण व्यवसायीसँग कुरा नमिल्दा रद्द गर्दै आएको आरोप लागेको छ।
उप–महानगरपालिकाले बैशाख ३० गतेदेखि असारसम्म ४ पटकसम्म सूचना जारी गरेको छ। तर टेण्डर नै नपरेको भन्दै रद्द गरिएको छ।
अहिले उप–महानगरपालिकाले कर्मचारीबाटै कर संकलन गरिरहेको छ। तर कर्मचारीकै मिलेमतोमा अवैध ओसारपसार बढेको आरोप लागेको छ।
सम्बन्धित समाचार
धनगढी उप–महानगरपालिकाले विवादित कवाडी करको ठेक्काबारे निर्णय गर्न सकेन
धनगढीमा कर संकलनको ठेक्का मिलोमतोमा पार्न कानुन विपरित रकम घटाईयो
धनगढीमा मिलोमतोमा ठेक्का पार्न नगरसभाको निर्णय विपरीत कर संकलनको टेण्डर