सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धामसहित विभिन्न ठाउँमा करेन्ट लाग्ने जोखिम

२०७७ मंसिर १२, ०४:४२ खबर संवाददाता

धनगढी : कैलालीको धर्मिक पर्यटन गन्तव्य मध्येमा पर्छ, शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिड्ड धाम । श्रद्धालु भक्तजनको आस्थाको केन्द्र र अगन्तुकहरुको रोजाइको गन्तव्य ।

धनगढी उपमहानगरपालिका ४ स्थित धाममा पूजाआजा गर्दा होस् या अवलोकन गर्दा विशेष सतर्कता अपनाउन चाहिँ नभुल्नुहोस् ।

हिन्दु धार्मिक संस्कार अनुसार जो कोही मन्दिरमा पूजापाठको लागि प्रवेश गर्दा होस् या अवलोकनको लागि जुत्ता चप्पल खोलेर जानुपर्ने हुन्छ । शिवपुरी धामको १ सय ८ फिट अग्लो शिवलिंड्ड स्थापना गरिएको क्षेत्रमा पनि प्रवेश गर्दा गेटमै जुत्ता चप्पल खोल्नुपर्ने सूचना बोर्ड टाँसिएको छ । भित्र नांगो खुट्टा प्रवेश गर्नुपर्छ ।

१ सय ८ फिट अग्लो शिवलिङ्गको शीरमा पुग्न तथा दृश्यावलोकनको लागि एक टावर ठड्याइएको छ । तर टावरको फेददेखि माथिसम्म असरल्ल नांगो विद्युतीय तार तानिएका छन् । टावरको टुप्पोमा राखिएको ‘लाउड स्पिकर’ बजाउने उदेश्यले तानिएको सो विद्युतीय तालबाट करेन्ट लाग्ने जोखिम देखिएको छ । तर एक प्राविधिकले ती तारबाट कुनै जोखिम नहुने दाबी गरे।

धनगढी उपमहानगरपालिका ४ की सरस्वती भट्टले अव्यवस्थित विद्युतीय तारले करेन्ट लाग्ने उच्च जोखिम रहेकोले सम्बन्धित पक्षलाई व्यवस्थापन गर्न सचेत गराए ।

धाम व्यवस्थापन समितिका अध्यक्ष श्याम तायलले केही समय निर्माण तथा मर्मतसम्भारको कार्य भएकोले व्यवस्थापन हुन बाँकी रहेको बताए । मन्दिरमा देखिएको विद्युतीय जोखिम हटाउने प्रतिवद्धता समेत उनले जाहेर गरे ।

शिवपुरी धाममा मात्रै होइन् हाम्रो, घर, पसल, गोठलगायत स्थानमा हामीले सानो भनेर वास्ता नगरिएका तथा कल्पना नै नगरेको स्थानमा विद्युतीय जोखिम हुन्छन् । तिनको समयमा व्यवस्थापन नगरिए ठूलो दुर्घटना निम्त्याउने प्रवल सम्भावना हुन्छ ।'नेपाल आइडल' रवि ओड प्रतिस्पर्धाको बेला आफ्नी 'ममी'सँग। विष्णादेवीको पछि विद्युत दुर्घटनामा ज्यान गयो।

जस्तो कि झन्डै दुई वर्षअघि नेपाल आइडल हुन सफल कञ्चनपुरका युवा रवि ओडकी कान्छी आमाको घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लागेर ज्यान गयो।

सावधानी र सुरक्षात्मक उपायका अभावमा त्यस्ता घटना अझै रोकिएका छैनन्।

जिल्ला प्रहरी कार्यालयको कैलालीको तथ्यांक अनुसार आव २०७६/०७७ मा १६ र आव २०७७/२०७८ को हालसम्म ११ जनाको करेन्ट लागेर मानिसको मृत्यु भएको छ ।

विद्युत दुर्घटनाका मुख्य कारक के-के हुन् ?
विद्युत प्राविधिकहरूका अनुसार नेपालमा अन्धाधुन्ध बस्ती विकास र विस्तारको क्रममा निम्त्याएको अव्यवस्थित विद्युतीकरणले जोखिम बढेको छ । तोकिएको प्राविधिक मापदण्ड विपरितका कमसल तार र विद्युतीय सामानको प्रयोग तथा सडक र तारबीचको दूरी घट्ने गरी सडक अग्लो पार्ने वा विस्तार गर्ने परिपाटीले पनि दुर्घटनाका जोखिम बढेका छन् ।

दक्ष प्राविधिकको संलग्नता विना गरिने स्थानीय स्तरको विद्युतीकरण, विद्युतीय प्रणाली वा घरायसी विद्युतीय सामान मर्मत सम्भारको अभाव, विद्युत चोरी र त्यसक्रममा लिइने जोखिमले पनि जोखिम बढेको हो ।

प्राविधिकहरुका अनुसार जोखिमबाट जोगिन घरमा नांगो तार वा टुपिन वा थ्रिपिन, प्लग, स्विच जीर्ण अवस्थामा छन् भने विद्युतीय दुर्घटनाको खतरा सुरु हुने हुँदा त्यसबाट खासगरी केटाकेटी वा वृद्धवृद्धालाई टाढै राख्नु पर्छ ।
 

कमेन्ट लोड गर्नुस