सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी मिलापत्रले स्मरण गरायो विभत्स बझाङ घटना

२०७७ मंसिर १२, ०७:४९ जनक विष्ट

धनगढीः सरकारले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई दण्डित गर्ने अध्यादेश अघि बढाएका बेला बैतडीमा सोही खालको घटना सार्वजनिक भएको छ।

गत जेठमा जिल्लाको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीमाथि बलात्कार गरेको घटनामा पीडक पक्षले १ तोला सुन दिने सहमति गरी गाउँमै मिलाएको घटना अहिले सार्वजनिक भएको हो। 

सो घटनामा पीडित युवतीले बिहीबार मात्र जिल्ला प्रहरी कार्यालयमा बलात्कार गर्ने युवकसहित मिलापत्र गराउँने ४ जना विरुद्ध जाहेरी दर्ता गराएकी छन।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले युवतीको जाहेरीपछि मिलापत्र गराउँने मध्येका २ जना पक्राउ गरिएको बताउँदै युवकसहितका २ जना भने फरार रहेकाले खोजी भइरहेको बताएका छन। 

तर बलात्कारपछि मिलापत्र गरिएको यो घटनाले बझाङमा भएको अर्को विभत्स महिला हिंसाको घटना फेरि ताजा बनाएको छ। 

के थियो त्यो घटना ?
गत असोज ७ गते साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न गएका बेला बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया सम्झना विश्वकर्मा बेपत्ता भएकी थिइन। 

करिब ४ घण्टासम्म नफर्किएपछि परिवारले खोजी गर्दा विभत्स हत्या गरिएको अवस्थामा  शिवमाण्डौँ मन्दिरमा सम्झनाको शव फेला परेको थियो। 

घटनाबारे प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा सम्झनाको बलात्कारपछि हत्या गरेको खुलेको थियो भने संलग्न भएको आरोपमा २० वर्षीय राजेन्द्र बोहरा पक्राउ परे। 

यसअघि सम्झनालाई राजेन्द्रले सताउने गरेको पीडित परिवारको सूचनाका आधारमा पक्राउ परेका राजेन्द्रले सम्झनाको बलात्कारपछि आफूले मन्दिरमा रहेको त्रिशुलले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। 

तर राजेन्द्रले सम्झनाको बलात्कारपछि हत्या गर्नुभन्दा अघि समेत साउनमा सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत जबरजस्तीकरणी गरेको सार्वजनिक भयो। 

साउन २९ मा भनिएको सो घटनामा गाउँका अगुवा र परिवारका सदस्य बसेर घटना मिलापत्र गरेको खुलेको थियो। 

बोहराले गल्ती गरेको भन्दै ५ सय रुपैयाँ नगद दिदै बालिकाको खुट्टा ढोगाउँदै मिलापत्र गरिएको खुल्यो। 

बलात्कारको घटना गाउँमै मिलाउँदा राजेन्द्रको अपराधिक मनोबल उच्च हुँदा अर्को बालिका हत्याको घटना भएको प्रहरीले बताउँदै आएको छ। तर पछि बलात्कारको घटना गाउँमै मिलापत्र गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काअनुसार बलात्कारपछि हत्या गर्ने बोहरा जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि अहिले कारागार चलान भएका छन् भने अर्को घटना मिलाउने ८ जना धरौटीमा छुटेका छन। 

मिलापत्र गराएको अभियोगमा पक्राउ परेका स्थानीय झलक दमाई, लालबहादुर बोहरा,धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई, गल्फे बोहरा लगायतका ८ जना धरौटीमा रिहा भएको उनले बताए। 

प्रहरी नायब उपरीक्षक खड्काअनुसार उनीहरु मध्ये ६ जना ३०÷३० हजार रुपैयाँ र २ जना १०÷१० हजार रुपैयाँ धरौटी रकम बुझाएर छुटिसकेका छन।

सम्बन्धित समाचार 

बझाङमा बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या

बझाङमा बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या गर्नेलाई कारवाही गर्न माग

सम्झना कामी हत्याका आरोपितमाथि बलात्कारको अर्को मुद्दा
   
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस