जाडोमा सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम घट्ला कि बढ्ला ?
धनगढी : सुदूरपश्चिममा नमूना परीक्षणको दर कम हुँदै गएकाले संक्रमित पनि कम देखिएको हुनसक्ने चिकित्सकहरू बताउछन् । जाडो बढ्दै गर्दा संक्रमणको अवस्था कस्तो होला । त्यो दर घट्ला कि बढ्ला ? जवाफ सहज छैन ।
भारत सँग २ तिरबाट सीमा जोडिएको र जनसम्पर्क ज्यादै धेरै रहेको सुदूरपश्चिममा यो महिना औसतमा दैनिक ४ सय ३५ जनाको स्वाब परीक्षण गर्दा ६० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि हुने गरेको पाइएको छ ।
दैनिक नमूना परीक्षणको दर कम हुँदै गएकाले संक्रमित पनि कम देखिएको हुनसक्ने चिकित्सकहरूको भनाइ छ । तर जाडो याममा संक्रमण बढ्न सक्ने चिन्ताबीच आउने हिउँदमा संक्रमणको ग्राफ माथि जाला कि तल ?
साथै के कोरोना भाइरस सुदूरपश्चिममा समुदायस्तरमा फैलिइसकेको छ ? वा त्यसरी फैलिन बाँकी छ ?
दिनेशखबरले सम्पर्क गरेका अधिकारी तथा विज्ञहरूसँग यी प्रश्नको सजिलो उत्तर छैन ।
अध्ययनको कमी
कोभिड(१९ सँग जुध्नको लागि सबैभन्दा पहिले महामारी फैलिने क्रम, दर र प्रभावित समुदायबारे यथेष्ट अध्ययन हुनु पर्ने भएपनि प्रदेश सरकारले अहिलेसम्म कोभिड–१९ बारे पर्याप्त अध्ययन गरिनसकेको अधिकारीहरू बताउछन् ।
त्यसैले कोरोनाभाइरस सुदूरपश्चिममा सामुदायस्तरमा फैलिइसक्यो कि फैलिन बाँकी छ प्रदेश सरकारसँग त्यसको स्पष्ट जवाफ छैन ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा कोरोनाभाइरसको अहिलेको अवस्थाको बारेमा समेत अध्ययन पूर्ण भएको छैन ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार कोरोनाभाइरसको सामाजिक अध्ययनको प्रतिवेदन समेत अझै सार्वजनिक गरिएको छैन ।
उनले दिनेशखबरसँग भने, ‘सरकारी टोलीलाई समुदायमा गएर कोरोनाभाइरसबारे अध्ययन गर्न भनिएको थियो । तर त्यो अझै पूरा भएको छैन । त्यसको प्रतिवेदन अझै आएको छैन ।’
केही समययता कोरोना भाइरस परीक्षणको दर समेत न्यून भएकाले दैनिक संक्रमितको संख्या समेत कम भएको मानिएको छ । यस्तो बेला संक्रमणमा वृद्धि वा कमी के हुने हो त्यसको आकलन प्रदेश सरकारले गरेको छैन ।
अध्ययनमा ढिलाइ
सुदूरपश्चिम प्रदेशमा १ लाख १५ हजार १ सय ५९ जनाको नमूना परिक्षण गर्दा १० हजार ७ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । परीक्षण गरिएको संख्याको झण्डै १० प्रतिशतमा कोरोना पुस्टि भएको हो ।
भारतबाट दैनिक हजारौँको संख्यामा नेपाल फर्किएकाहरुलाई व्यवस्थापन गर्न नसक्दा प्रदेशमा कोरोनाभाइरस फैलिएको आरोप खेप्दै आएको सुदूरपश्चिम सरकारले कोरोनाभाइरस महामारीको यथार्थबारेको अध्ययनमा गम्भीर चासो नदेखाएको देखिएको हो ।
वैज्ञानिक तथ्याङ्क अभाव
केही समययता सिटी अर्थात साइकल थ्रेसहोल्डको भ्यालु (अंक) कोभिड उपचारमा खटिएका चिकित्सकका लागि महत्त्वपूर्ण मानिएको छ । त्यसबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमताबारे अनुमान गर्न सकिन्छ ।
सोही आधारमा संक्रमणको जोखिम समेत यकिन गर्न सकिने सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमर बताउछन् । तर सुदूरपश्चिममा सिटी भ्यालुको तथ्याङ्क समेत राख्न थालिएको छैन ।
डाक्टर कमरका अनुसार प्रयोगशालामा राखिएको भएपनि मन्त्रालय वा अन्य निकायले सिटी भ्यालुको बारेमा अध्ययन गरी तथ्याङ्क सङ्कलन गर्ने काम गरेको छैन ।
उनले भने, ‘पहिले सिटी भ्यालु भन्ने थिएन । अहिले राख्न थालिएको छ । तर सुदूरपश्चिममा अध्ययन भने भएको छैन ।’
चिकित्सकका अनुसार सिटी भ्यालु जति कम भयो त्यति नै भाइरसको भार बढी, संक्रमणको लक्षण गम्भीर र बढी संक्रामक हुनसक्ने अनुमान गरिन्छ ।
सिटी भ्यालुको अंक जति बढी भयो त्यति नै भाइरसको भार कम, लक्षण र संक्रामक कम हुने अनुमान गरिन्छ ।