सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको मारमा डडेल्धुराका ओखर व्यवसायी

२०७७ मंसिर ७, ०१:०९ खबर संवाददाता

शेर भण्डारी, डडेल्धुरा : डडेल्धुराका तारा ऐरलाई जिल्ला सदरमुकाममा व्यवसाय गर्न थालेको ७ वर्ष भन्दा बढी भइसकेको छ । व्यवसाय गरेदेखि उनले कहिले पनि पछाडि फर्किनु परेन् ।  व्यवसाय सुरू गरेदेखि उनले मनग्य आमदानी गरिरहेकी थिइन्।

ओखरको सिजनमा त झन् उनको व्यवसायले शिखर चुम्थ्यो । जिल्ला सदरमुकाम डडेल्धुराको बसपार्क नजिक जस्ताको छाप्रो बनाएर गरिरहको उनको व्यवसाय आजभोली भने सोचेजस्तो भइहरहेको छैन् । कारण हो कारोना भाइरस ।

कोरोना महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउनको घोषणा गरेको थियो । तीन महिनापछि लकडाउन त खुल्यो तर, उनको व्यवसाय उठ्न सकेको छैन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अन्य व्यवसाय जस्तै उनको व्यवसाय थलिएको छ। 

‘कोरोनाको कारण जिल्ला सदरमुकाममा ग्राहक आउन छोडिसके । ओखर बिक्रिगर्न निकै समस्या परेको छ । खरिद गर्न मान्छे पाउँन मुस्किल छ,’ ऐरले भनिन्, ‘विगतका वर्षमा ओखरबाट मनग्य आमदानी गरिन्थ्यो । अहिले भने मेरो लागि कोरोना ‘तिलको पहाड’ सरह भइदिएको छ ।’

अहिले उनले पसल बिहानदेखि साँझसम्म निरन्तर रूपमा खोल्छन् । पसल अगाडी ओखर पनि राखेकी छन् । तर, उनको व्यवसाय भने चौपट छ । ‘पसलको अगाडिबाट हिँड्डुल गर्नेहरूले ओखरतिर हेर्छन् तर, किन्दैनन्,’ उनले भनिन्।

‘विगतका वर्षमा गाउँबाट ओखर खरिद गरि जिल्ला सदरमुकाममा बिक्रि गथ्यौँ, यसपाली त खरिद गर्न पनि समस्या छ,’ उनले भनिन्, ‘गाउँबाट ५ सयमा खरिद गरेको ओखर जिल्ला सदरमुकाममा ६ सयमा पनि बिक्रि भइरहेको छैन्।’

कोरोनाको कारण बेरोजगारको संख्या बढ्दै गएकोले पनि ओखर किन्ने ग्राहक आउन छोडेको उनको भनाइ छ । ऐर मात्रै होइन अहिले लाखौंको आम्दानी गर्ने डडेल्धुराका ओखर व्यवसायी कोरोना कहरको मारमा परेका छन। सिजनमा लाखौको आम्दानी गर्न सफल यहाँका व्यवसायी बढ्दो कोरोना कहरको चपेटामा छन। 

बजारमा नागरिकको चहलपहल कम त्यसैमा पनि अन्य जिल्लामा निर्यात हुन नपाउँदा व्यवसायी निराश बनेका छन् । सुदूरपश्चिमको पहाडी जिल्लाको ‘हिल स्टेशन’को रूपमा चिनिने डडेल्धुराबाटै तराईका जिल्लामा समेत ओखर निर्यात हुने गरेको छ । गत विगतका वर्षमा सिजनमा ओखर बिक्रि गरेरै एकदेखि २ लाखसम्म आम्दानी गर्ने व्यापारी बिष्णु पन्तले यो वर्ष ५० हजारको समेत आम्दानी गर्न सकेका छैनन् । 

पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न स्थानबाट उत्पादित ओखर जिल्ला सदरमुकामको बसपार्क र स्याउले बजारमा ल्याई प्रतिकिलो ६ सयदेखि ७ सय सम्ममा बेच्ने गरेको उनको भनाइ छ । उनले गत वर्ष ५ देखि ७ क्विन्टलसम्म ओखर बिक्री गरेको भएपनि यसपालि एक/दुई क्विन्टल समेत बिक्रि गर्न नसकेको बताए ।

जिल्ला सदरमुकाममा जस्ताको पाताको छाप्रो बनाएर व्यवसाय गरेर जिविकोपार्जन गरिरहेको भएपनि नगरपालिकाले खोका छाप्रा फाल्ने भन्दै पटक–पटक १५ दिने सूचना जारी गरिरहँदा अस्थिर बजारको कारणले पनि व्यापार घटेको व्यापारी रामदत्त पन्तले बताए ।

‘चाडपर्वको बेलामा काठमाडौँबाट यहाँका नागरिक घर फर्किने र जाँदा ओखर लगेर जाने गरेका थिए । यस वर्ष कोरोनाका कारण गाउँका नागरिक गाउँमा र सहरका नागरिक सहरमै बसेका छन्,’ उनले भने, ‘जसले गर्दा कोरोनाको असर ओखर व्यवसायमा पर्यो।’

अहिलेको सिजनमा डडेल्धुरामा ओखरको व्यापारलाई मूख्य व्यापारका रुपमा लिने गरिन्छ । डडेल्धुराको स्याउले बजारमा पसलै पिच्छे विक्रिका लागि ओखर राखिएका छन्। यहाँका बागबजार, तुफानडाँडा, स्याउले र पोखरा बजारमा दर्जनौ व्यापारीहरूले बिक्रि गर्नको लागि ओखर राखेका हुन्छन् ।
 

कमेन्ट लोड गर्नुस