सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना जोखिमकाबीच कैलालीमा वनभोज खान जाने क्रम बढ्यो

२०७७ मंसिर ५, ०७:१४ रोशन भट्ट

धनगढीः विगतका वर्षमा देउसी भैलो खेलेर संकलन भएको रकमले दौतरीहरुसँग मिलेर वनभोज खान जानेको संख्या धेरै हुन्थ्यो ।

तर यसवर्ष कोरोनाको प्रभावका कारण देउसी भैलो खेल्न रोक लगाईएको भएपनि रकम संकलन गरेरै कैलालीका गोदावरी, चिसापानी, खानीडाडा, घोडाघोडी ताल, टीकापुर पार्क, जाखौर ताल, चुरे फेदीका विभिन्न ठाँउहरुमा वनभोज जाने क्रम सुरु भएको छ ।

अहिले कैलालीको चिसापानी क्षेत्रमा मात्रै दैनिक सयौँको संख्यामा वनभोज खान जाने गरेका छन् । कोरोना भाईरसको जोखिमलाई वेवास्ता गरी वनभोज खान जानेहरुका कारण कोरोनाको जोखिम बढेको चिसापानीका स्थानीय जीवन विष्ट बताउँछन् ।

‘पिकनिक खान र घुमघाम गर्न आउनेहरुको घुईचो लाग्न थालेको छ । ’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्डको पालन समेत नगरिएपछि कोरोनाको जोखिम बढेको छ तर स्थानीय प्रशासनले वेवास्ता गरेको छ ।’

कैलालीमा वनभोज खान जानेहरुले नदी किनार, तालको छेउ र चुरे पहाडको फेदीका ठाउँ रोज्ने गरेका छन् । प्रायः धेरै स्थानबाट एउटै ठाउँमा वनभोज खान पुग्ने समूहरुको जमघट हुने भएकाले कोरोना संक्रमणको जोखीम बढने अनुमान गरिएको हो ।

स्थानीय प्रशासनले समेत जारी गरेको आदेशमा समेत सामूहिक रुपमा जम्मा भई वनभोज खान जान नपाईने भनिएको छ । तर कैलालीको गोदावरी क्षेत्रमा पनि जोखिमकै विच दैनिक सयौँको संख्यामा वनभोज खान मानिसहरु पुग्ने गरेका छन् ।

दशैँ, तिहार र छठ पर्व लक्षित गरी स्थानीय प्रशासनले जारी गरेको एकिकृत सुरक्षा योजनामा समेत भिडभाड गर्न नपाईने उल्लेख छ ।

कोरोना नियन्त्रणका लागि समेत जारी गरिएको आदेशलाई पूर्ण रुपमा कार्यान्वयन गर्न स्थानीय प्रशासनले नै वेवास्ता गरेको आरोप लागेको छ ।

तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने जारी आदेशको पालन गर्न सबैलाई आग्रह गरेका छन् ।

विगतमा वनभोज जाँदा सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका तथा महिला हिंसा लगायत घटना सार्वजनिक हुने गरेका थिए ।

त्यस्ता घटनालाई समेत नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनसँगै अभिभावक समेत चनाखो बन्नु पर्ने देखिन्छ ।

  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस